राप्रपामा रोकिएन पहिरो, पार्टी छाड्नेको लर्को
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोल्पा जिल्ला समितिका अध्यक्षसहित दर्जनौं नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन्। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन विदेशी शक्तिको प्रभावमा परेको र त्यसले पार्टीको साख तथा इज्जतमा गम्भीर क्षति पुगेको आरोप लगाउँदै उनीहरूले सामूहिक रूपमा पार्टी छाडेको घोषणा गरेका हुन्।
पार्टी परित्याग गर्नेमा जिल्ला अध्यक्ष अर्जुनबहादुर शाही, उपाध्यक्षहरू गणेश रोकाय, गोपाल रोकाय, लोकबहादुर शाही, कमलकुमारी शाही तथा सहसचिव मानदेव रोकाय रहेका छन्। त्यसैगरी सदस्यहरू रूपकली रोकाय, विष्णुमाया शाही, पर्मलाल विक, सुरेन्द्रबहादुर शाही, खम्बबहादुर शाही, विन्द्रा रोका, लालिमान रोका, जंगे कुल्लम, प्रकाश विक, मनवीर नेपाल र सरूने कामीले पनि राप्रपासँगको आफ्नो सम्बन्ध अन्त्य गरेको जनाएका छन्।
पार्टी त्याग्दै उनीहरूले वर्तमान नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूको आरोप छ कि अध्यक्ष लिङ्देनको नेतृत्वमा पार्टीले आफ्नो वैचारिक धरातल गुमाउँदै गएको छ र संगठन कमजोर बन्दै गएको छ।
यसअघि राप्रपाका महामन्त्री डा. धवलशम्शेर जबराले पार्टी छाडेपछि पार्टीभित्र असन्तुष्टि थप चुलिएको बताइन्छ। जबराको बहिर्गमनपछि केन्द्रदेखि जिल्ला तहसम्मका विभिन्न नेता तथा कार्यकर्ताले पार्टी छाड्ने क्रम बढ्दै गएको छ।
डोल्पा जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरूको सामूहिक बहिर्गमनलाई राप्रपाभित्रको पछिल्लो ठूलो राजनीतिक घटनाका रूपमा हेरिएको छ। यसले पार्टी संगठन र नेतृत्वमाथि थप दबाब सिर्जना गरेको राजनीतिक वृत्तमा चर्चा छ ।


