`

बुटवलमा जटिल रोगका बिरामीको संख्या बढ्दै

Nepal One HD २८ जेठ २०८३ १६:२०
जीवनशैली/स्वास्थ्य

बुटवल। बुटवलमा जटिल तथा नसर्ने रोगका बिरामीहरूको संख्या हरेक वर्ष बढ्दै गएको देखिएको छ।

उपचारका लागि अस्पताल धाउने तथा सरकारी सहायताका लागि बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखामा निवेदन दिने बिरामीहरूको चाप पनि बढ्दो छ।

संघ, प्रदेश र स्थानीय सरकारले यस्ता रोगहरूको नियन्त्रण तथा उपचारका लागि बर्सेनि ठूलो बजेट विनियोजन गर्दै आए पनि बिरामी संख्या घट्नुको साटो निरन्तर वृद्धि भइरहेको तथ्याङ्कले देखाउँछ।

नेपाल सरकारले मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनेमियालाई जटिल रोगको सूचीमा राखेको छ।

यस्ता रोगका बिरामीलाई उपचारका लागि एक पटकको लागि एक लाख रुपैयाँ र औषधोपचारका लागि मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था छ। मिर्गौलाका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा पनि दिइँदै आएको छ।

प्रदेश सरकारले पनि मुटुको भल्भ फेर्नुपर्ने, मिर्गौला प्रत्यारोपण र क्यान्सर उपचारका बिरामीलाई एक पटकका लागि दुई लाख रुपैयाँसम्म सहयोग गर्दै आएको छ। त्यस्तै, स्थानीय तहले पनि स्थायी बासिन्दा बिरामीलाई आर्थिक सहायता उपलब्ध गराइरहेका छन्।

बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कअनुसार पछिल्ला चार वर्षमा मात्र ५७८ जना जटिल रोगका बिरामीले उपचार सहायताका लागि रकम प्राप्त गरेका छन्।

आर्थिक वर्ष २०७९/८० मा १४२ जना, २०८०/८१ मा १६१ जना, २०८१/८२ मा १५८ जना र चालु आर्थिक वर्षको जेठ २० गतेसम्म ११७ जना बिरामी थपिएका छन्।

तर यी तथ्याङ्क केवल सहायताका लागि दर्ता भएका बिरामीहरूको मात्र हो। आर्थिक वा चेतनाको कमीका कारण सेवा लिन नपुगेका बिरामीको संख्या अझै धेरै हुनसक्ने स्वास्थ्यकर्मीहरूको अनुमान छ।

स्वास्थ्य विज्ञहरूका अनुसार जटिल रोगहरू अचानक नभई जीवनशैली, खानपान, मानसिक तनाव र वातावरणीय असरका कारण विस्तारै विकसित हुन्छन्।

विशेषज्ञहरूको भनाइअनुसार अस्वस्थ खानपान, जङ्क फुडको अत्यधिक प्रयोग, शारीरिक निष्क्रियता, धूम्रपान-मदिरा सेवन, मानसिक तनाव तथा वायु-ध्वनि प्रदूषण यस्ता रोगका प्रमुख कारण हुन्।

उनीहरूले नियमित शारीरिक व्यायाम, योग, सन्तुलित आहार र समयमै स्वास्थ्य परीक्षणलाई रोग नियन्त्रणको मुख्य उपायका रूपमा लिएका छन्।

सरकारले विभिन्न कार्यक्रममार्फत रोकथाम प्रयास गरे पनि व्यवहारिक रूपमा जीवनशैली परिवर्तन नहुँदा जटिल रोगहरूको वृद्धि रोक्न कठिन भइरहेको देखिन्छ।

विशेषज्ञहरूका अनुसार नीति र कार्यक्रम भए पनि नागरिकको दैनिक जीवनशैलीमा सुधार नआएसम्म यस्ता रोगहरूको जोखिम घटाउन कठिन हुने देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *