`

सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता

Nepal One HD २८ जेठ २०८३ १९:५६
प्रमुख खबर

काठमाडौं। प्रतिनिधि सभाका सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कटले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका क्रममा सभामुख अर्यालले सफलतापूर्वक सम्पन्न संसदीय निर्वाचनपछि नेपाल राजनीतिक यात्राको नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै वर्तमान सरकार स्थिरता, रूपान्तरण, पारदर्शिता, सुशासन तथा संस्थागत सुधारप्रति प्रतिबद्ध रहेको बताए ।

उनले जनताको सुशासन र तीव्र आर्थिक विकासप्रतिको अपेक्षाअनुरूप कानून निर्माण, प्रभावकारी कार्यकारी निगरानी, रचनात्मक संसदीय बहस तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा प्रतिनिधि सभा दृढतापूर्वक लागिरहेको धारणा व्यक्त गरे ।

सभामुख अर्यालले नेपाल र संयुक्त राज्य अमेरिकाबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि पारस्परिक सम्मान, विकास सहयोग तथा जनस्तरीय सम्बन्धमा आधारित घनिष्ठ, सौहार्दपूर्ण र सहयोगात्मक सम्बन्ध कायम रहँदै आएको उल्लेख गरे ।

दुवै देशले लोकतन्त्र, मानव अधिकार तथा स्वतन्त्रताजस्ता साझा मूल्यहरूलाई आत्मसात् र सम्मान गर्दै आएको पनि उनले बताए ।

उनले आगामी वर्ष नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ८०औँ वर्षगाँठ मनाइने सन्दर्भ उल्लेख गर्दै उक्त अवसरले दुई देशबीच आठ दशकदेखि कायम मित्रता, सहकार्य तथा साझेदारीको समीक्षा गरी भावी सम्बन्धलाई थप सुदृढ बनाउने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे ।

साथै, सो अवसरका सन्दर्भमा संसदीय भ्रमण आदानप्रदान कार्यक्रम आयोजना गरी दुवै देशका संसद् तथा जनप्रतिनिधिहरूबीचको सम्बन्ध अझ सुदृढ बनाउन सकिने धारणा राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *