`

‘रिभर्स एजिङ’ : अब बुढो हुने छैन मान्छे ?

Nepal One HD ३० जेठ २०८३ १३:३५
जीवनशैली/स्वास्थ्य

काठमाडौं। चिकित्सा विज्ञानको सबैभन्दा महत्वाकांक्षी लक्ष्यमध्ये एक मानिएको ‘रिभर्स एजिङ’ अर्थात् बुढ्यौली प्रक्रियालाई उल्ट्याउने प्रविधिको पहिलो मानव परीक्षण सुरु भएको छ।

उमेरसँगै कोषिकामा आउने क्षतिलाई उल्ट्याउने उद्देश्यसहित विकसित इन्जेक्सन पहिलो पटक मानिसमा प्रयोग गरिएको हो।

अमेरिकाको बोस्टनस्थित बायोटेक स्टार्टअप लाइफ बायोसाइन्सेजले आफ्नो पहिलो बिरामीमा सेल्युलर रिप्रोग्रामिङमा आधारित इन्जेक्सन प्रयोग गरिएको जनाएको छ। यो परीक्षण विशेषगरी जलविन्दु (ग्लुकोमा) बाट पीडित बिरामीको आँखामा गरिएको हो।

वैज्ञानिकहरूको लक्ष्य उमेर बढेसँगै कमजोर हुँदै जाने कोषिकाहरूलाई पुनः सक्रिय र युवा अवस्थामा फर्काउनु हो। परीक्षण अन्तर्गत दिइएको इन्जेक्सनले कोषिकाको जैविक संरचना पुनः प्रोग्राम गर्ने क्षमता राख्ने दाबी गरिएको छ।

लाइफ बायोसाइन्सेजका अनुसार आगामी ६ महिनासम्म बिरामीमा यसको प्रभावकारिता र सम्भावित साइड इफेक्टबारे निरन्तर निगरानी गरिनेछ।

यो प्रविधिको प्रारम्भिक परीक्षण पहिले मुसा र बाँदरमा गरिएको थियो, जहाँ दृष्टि सुधारलगायत सकारात्मक परिणाम देखिएको बताइएको छ। त्यसपछि मात्र मानव परीक्षणमा प्रवेश गरिएको हो।

विशेषज्ञहरूका अनुसार अहिलेको चरण पूर्ण रूपमा सुरक्षितता परीक्षण (सेफ्टी ट्रायल) हो, जसमा प्रविधिले मानव शरीरमा कस्तो प्रतिक्रिया दिन्छ भन्ने अध्ययन गरिनेछ।

यो उपचारमा बिरामीको आँखामा ‘सिंगल जीन थेरापी’ इन्जेक्सन दिइएको छ। त्यसपछि विशेष प्रकारको एन्टिबायोटिक औषधि प्रयोग गरिनेछ, जसले शरीरभित्र गएर उपचारमा प्रयोग भएका तीनवटा जीनलाई सक्रिय बनाउने काम गर्छ।

यो प्रक्रियाले कोषिकालाई पुनः प्रोग्राम गर्दै जैविक रूपमा युवा अवस्थातर्फ फर्काउने वैज्ञानिकहरूको दाबी छ।

शरीरका अन्य अंगको तुलनामा आँखालाई यस परीक्षणका लागि छनोट गर्नुको मुख्य कारण यसलाई सजिलै निगरानी गर्न सकिने र साइड इफेक्टको मूल्यांकन तुलनात्मक रूपमा सुरक्षित हुने भएकाले हो।

यसले प्रारम्भिक चरणको मानव परीक्षणलाई कम जोखिमपूर्ण बनाउने अपेक्षा गरिएको छ।

यो क्षेत्रमा विश्वका ठूला लगानीकर्ताहरूको समेत ध्यान आकर्षित भएको छ। अमेजनका संस्थापक जेफ बेजोस, ओपनएआईका प्रमुख स्याम अल्टम्यान लगायतले यस प्रकारका बायोटेक परियोजनामा लगानी गरेका छन्।

साथै, एली लिली र मर्कजस्ता ठूला औषधि कम्पनीहरूले पनि एजिङ-सम्बन्धी अनुसन्धानलाई तीव्र बनाइरहेका छन्।

लाइफ बायोसाइन्सेजका प्रमुख कार्यकारी अधिकृत जेरी म्याकलिनले यो उपलब्धि आफ्नो कम्पनी मात्र नभई सम्पूर्ण चिकित्सा विज्ञानका लागि सम्भावित रूपमा ऐतिहासिक मोड भएको बताएका छन्।

उनका अनुसार यदि परीक्षण सफल भयो भने बुढ्यौली प्रक्रियालाई नियन्त्रण वा उल्ट्याउने नयाँ युग सुरु हुन सक्छ।

‘रिभर्स एजिङ’ प्रविधि सफल भएमा यसले मानव स्वास्थ्य, दीर्घायु र रोग उपचारको अवधारणालाई नै परिवर्तन गर्न सक्ने वैज्ञानिकहरूको विश्वास छ।

तर हाल यो प्रारम्भिक मानव परीक्षण चरणमै रहेकोले यसको दीर्घकालीन प्रभाव र सुरक्षा प्रमाणित हुन अझै समय लाग्ने विश्लेषण गरिएको छ।  

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *