अन्तर्राष्ट्रिय स्तरको फिल्म फेस्टिभल आयोजना गर्ने तयारीमा काठमाडौं महानगर
काठमाडाैं। काठमाडौं महानगरपालिकाले अन्तर्राष्ट्रिय स्तरको काठमाडौं फिल्म फेस्टिभल आयोजना गर्ने घोषणा गरेको छ। आइतबार आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक नगरप्रमुख सुनिता डंगोलले यो जानकारी दिएकी हुन्।
उनका अनुसार विदेशी पाहुनासमेतलाई आमन्त्रण गरी फिल्म फेस्टिभललाई अन्तर्राष्ट्रियस्तरमा विकास गरिनेछ। महानगरपालिका युनेस्कोको चलचित्र सहरको रूपमा समेत मान्यता प्राप्त रहेको र हालै डंगोल फ्रान्सको कान्स फिल्म फेस्टिभलमा सहभागी भएको पनि उल्लेख गरिएको छ। साथै महानगरले टोल–टोलमा फिल्म कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ।
नीति तथा कार्यक्रममा मौलिक तथा परम्परागत कला–संस्कृति, पाककला, भेषभूषा, शिल्प, जात्रा–पर्व, साहित्य–संगीत तथा प्राकृतिक सम्पदालाई चलचित्रमार्फत उजागर गर्दै रचनात्मक उद्योगका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। यसअन्तर्गत फिल्म महोत्सव, खाना महोत्सव, एक्स्पो र विभिन्न प्रदर्शनीहरू सञ्चालन गरिने जनाइएको छ।
महानगरले निर्माण गरेको ‘येँ देय् सांस्कृतिक छेँ’ सञ्चालनमा ल्याइने र काठमाडौंलाई सांस्कृतिक सहरका रूपमा विकसित गर्दै “खुला तथा जीवन्त सङ्ग्रहालय” बनाउने परिकल्पना अघि सारिएको छ।
ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेका मठ–मन्दिर, पोखरी, गुम्बा, स्तूपा, चोक तथा अन्य सम्पदा स्थलहरूको संरक्षण, डिजिटल अभिलेखीकरण, नक्सांकन र पुनर्निर्माण गरिने नीति पनि समावेश गरिएको छ।
त्यस्तै, परम्परागत सीप र ज्ञानको जगेर्ना गर्दै सम्पदा बस्ती संरक्षण, होमस्टे प्रवर्द्धन तथा जात्रा–संस्कृतिलाई युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गर्न पहल गरिने उल्लेख छ।
इन्द्रजात्रा लगायतका ऐतिहासिक जात्रामा सम्पदामैत्री भवन डिजाइनलाई प्रोत्साहन गर्ने र प्रमुख देवगणका लागि आवश्यक आवास व्यवस्था मिलाउने योजना पनि नीति तथा कार्यक्रममा समेटिएको छ।
