`

मिस्टर बिस्टले बनाएको नयाँ रेकर्ड के हो ?

Nepal One HD ३१ जेठ २०८३ १५:४९
चलचित्र

काठमाडाैं। अमेरिकी युट्युबर जिमी डोनाल्डसन, जसलाई मिस्टर बिस्ट भनेर चिनिन्छ, युट्युब इतिहासमै पहिलो पटक ५० करोड (५०० मिलियन) सब्सक्राइबर पुग्ने क्रिएटर बनेका छन्। शुक्रबार उनले यो ऐतिहासिक आँकडा पार गर्दै विश्वकै सबैभन्दा धेरै सब्सक्राइबर भएको युट्युबरको कीर्तिमान कायम गरेका हुन्।

मिस्टर बिस्ट सन् २०२२ नोभेम्बरमै सबैभन्दा धेरै सब्सक्राइबर भएका व्यक्तिगत क्रिएटर बनेका थिए भने २०२४ जुनमा उनी युट्युबको सबैभन्दा ठूलो च्यानलको रूपमा स्थापित भएका थिए। उनका लोकप्रिय भिडियोहरूमा ‘स्क्विड गेम इन रियल लाइफ’ जस्ता ठूला प्रोजेक्टहरू छन्, जसले अर्बौँ भ्युज नजिक पुगेर ठूलो चर्चा बटुलेका छन्। साथै, ‘५० युट्युबरबिच १० लाख डलरको प्रतिस्पर्धा’ जस्ता भव्य भिडियोहरूले उनको कन्टेन्टलाई नयाँ स्तरमा पुर्‍याएका छन्।

५० करोड सब्सक्राइबर नजिकिँदै गर्दा उनले लाइभ स्ट्रिम समेत गरेका थिए, जसमा ६ लाखभन्दा बढी दर्शकले प्रत्यक्ष हेरेका थिए। उक्त ऐतिहासिक क्षणमा उनका फ्यानहरूले रमाइलो गर्दै अनसब्सक्राइब र फेरि सब्सक्राइब गरेर उत्सव मनाएका थिए।

लक्ष्य पूरा भएपछि भावुक बनेका मिस्टर बिस्टले आफ्नो संघर्षपूर्ण विगत स्मरण गरेका छन्। सन् २००८ को आर्थिक संकटमा आफ्नो परिवारले कठिनाइ भोगेको र सुरुवाती दिनमा युट्युबबाट आएको सानो आम्दानी (एडसेन्स) बचाएर उपकरण किन्ने गरेको उनले बताए। उनले कुनै क्षेत्रमा निपुण हुन हजार होइन, लाखौँ घण्टाको अभ्यास आवश्यक हुने भन्दै आफूले ६०–७० हजार घण्टाभन्दा बढी समय भिडियो निर्माणमा खर्च गरेको दाबी पनि गरे। उनले युवाहरूलाई आफ्नो सपना पछ्याउन र निरन्तर मेहनत गर्न प्रेरित गरेका छन्।

उनले ५०० मिलियन सब्सक्राइबर विशेष भिडियो छिट्टै सार्वजनिक गर्ने घोषणा पनि गरेका छन्। भविष्यमा भिडियो निर्माणलाई अझ सिनेम्याटिक बनाउने, परोपकारी काम विस्तार गर्ने तथा आफ्नो ब्रान्ड ‘फिस्टेबल’ मार्फत व्यवसाय विस्तार गर्ने योजना रहेको उनले बताएका छन्।

मिस्टर बिस्टले परोपकारलाई आफ्नो प्रमुख मिसनका रूपमा अघि बढाएका छन्। यसअघिका अभियानहरू ह्याजट्याग टिम ट्रीज, ह्याजट्याग टिमसिज  र ह्याजट्याग वाटर’ मार्फत उनले करोडौँ डलर संकलन गरी विश्वभर वृक्षरोपण, समुद्री सफाइ र स्वच्छ खानेपानी परियोजनामा योगदान गरेका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *