`

‘अक्षरा’ को छायांकन सम्पन्न

Nepal One HD ३ असार २०८३ १२:४३
चलचित्र

काठमाडौं । विनयराज पौडेलको निर्देशनमा निर्माण भइरहेको नेपाली चलचित्र ‘अक्षरा’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ।

कलाकार तथा प्राविधिकहरूको निरन्तर मेहनतका कारण पूर्वनिर्धारित कार्यतालिकाअनुसार ३७ दिनमै छायांकन पूरा गरिएको निर्माण पक्षले जनाएको छ।

निर्देशक पौडेलले सम्पूर्ण टिमको समन्वय र समर्पणका कारण तोकिएको समयमै सुटिङ सम्पन्न गर्न सफल भएको भन्दै सबैप्रति आभार व्यक्त गरेका छन्। उनका अनुसार योजना अनुसारको कार्यतालिका पालनाले निर्माण प्रक्रिया सहज बनेको हो।

छायांकन सकिनुअघि निर्माण टोलीले तीज पर्वलाई लक्षित गर्दै तयार पारिएको ‘नाँचौं न बरिलै’ बोलको गीतको छायांकन गरेको थियो। उक्त गीतमा सुरेन्द्र रानाको शब्द, कर्णराज गिरीको संगीत र समीक्षा अधिकारीको स्वर रहेको छ।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रमा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सिर्जना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ।

त्यस्तै चलचित्रमा बाल कलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गानाको अभिनय पनि समावेश गरिएको छ।

निर्माताका रूपमा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना रहेका छन् भने कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्। चलचित्रको कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका हुन्।

दिपेन बस्न्यातको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको यस चलचित्रमा मदन न्यौपानेको श्रृङ्गार, प्रार्थना भट्टराईको वेशभूषा तथा सुमन काफ्लेको निर्माण व्यवस्थापन रहेको छ।

मुख्य सहायक निर्देशकमा दिवसविक्रम बोहोरा तथा सहायक निर्देशकहरूमा मनोज बोहोरा र सौरभ शाह रहेका छन्।

यसअघि विभिन्न चलचित्रहरूमा सहायक निर्देशकका रूपमा अनुभव बटुलिसकेका विनयराज पौडेलले यसै चलचित्रमार्फत स्वतन्त्र निर्देशकका रूपमा डेब्यु गर्न लागेका हुन्।

चलचित्रको पोस्टर डिजाइन राकेश दाहालले गरेका छन्। ‘अक्षरा’ आउँदो भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा रहेको छ।

चलचित्रलाई नेशनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्ने जिम्मा लिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *