क्रिटिक्स अवार्ड क-कसले पाउँदै ?
काठमाडौं । चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) ले आगामी शनिबार असार ६ गते नेपाल पर्यटन बोर्डको सभाहलमा अवार्ड वितरण कार्यक्रम आयोजना गर्ने भएको छ।
समाजले बुधबार विज्ञप्ति जारी गर्दै २०८१ र २०८२ सालका उत्कृष्ट चलचित्रकर्मी तथा चलचित्रलाई एकै समारोहमा सम्मान गरिने जानकारी दिएको हो।
२०८१ सालतर्फ उत्कृष्ट चलचित्रको अवार्ड ‘शाम्बाला’ ले प्राप्त गरेको छ भने उत्कृष्ट निर्देशकको अवार्ड मीनबहादुर भामलाई प्रदान गरिने भएको छ। उत्कृष्ट अभिनेतामा दयाहाङ राई (‘गाउँ आएको बाटो’) र उत्कृष्ट अभिनेत्रीमा थिन्ले ल्हामो (‘शाम्बाला’) छनोट भएका छन्।
त्यसैगरी उत्कृष्ट पटकथा तथा लेखनतर्फ सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी (‘सानो संसार’), उत्कृष्ट छायांकनतर्फ आलोक शुक्ला (‘आँखा’), उत्कृष्ट सम्पादनतर्फ जे. हिम ली र एलेक्स गुर्भिट्स (‘राजागञ्ज’) तथा उत्कृष्ट साउन्ड डिजाइनतर्फ किशोर आचार्य (‘गाउँ आएको बाटो’) सम्मानित हुनेछन्।
विशेष उल्लेख (स्पेसल मेन्सन) अन्तर्गत अभिनयतर्फ सुपला सापकोटा (‘बोक्सीको घर’) र कला निर्देशनतर्फ रोशन दिवाना (‘पूर्णबहादुरको सारङ्गी’) लाई सम्मान प्रदान गरिने भएको छ।
यस्तै २०८२ सालतर्फ उत्कृष्ट चलचित्रको अवार्ड ‘ऊनको स्वीटर’ ले जितेको छ। उक्त चलचित्रका निर्देशक नवीन चौहान उत्कृष्ट निर्देशक घोषित भएका छन्। उत्कृष्ट अभिनेतामा हरिवंश आचार्य (‘भूठान’) र उत्कृष्ट अभिनेत्रीमा आना शर्मा (‘रमिताको पिरती’) चयन भएका छन्।
उत्कृष्ट पटकथातर्फ नवीन चौहान र सुरज कटुवाल (‘ऊनको स्वीटर’), उत्कृष्ट छायांकनतर्फ सुशन प्रजापति (‘भूठान’), उत्कृष्ट सम्पादनतर्फ अञ्जय खड्का (‘भूठान’) तथा उत्कृष्ट पाश्र्व संगीततर्फ कोविद बज्र (‘ऊनको स्वीटर’) ले अवार्ड प्राप्त गर्ने भएका छन्।
समाजका अनुसार नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्याएका स्रष्टा तथा प्राविधिकहरूको कामको मूल्यांकन गर्दै वार्षिक रूपमा अवार्ड वितरण गरिँदै आएको छ।
यस वर्ष दुई वर्षका उत्कृष्ट कृतिलाई एउटै समारोहमार्फत सम्मान गरिने कार्यक्रम तय गरिएको हो।
