`

राष्ट्रिय चलचित्र पुरस्कार २०८३ : क-कसले पाए ?

Nepal One HD ५ असार २०८३ १२:५९
चलचित्र

काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहबीच ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८३’ वितरण गरिएको छ।

समारोहमा नेपाली चलचित्र क्षेत्रमा विभिन्न विधामा उत्कृष्ट योगदान पुर्‍याउने कलाकार तथा स्रष्टाहरूलाई सम्मान गरिएको हो।

यस वर्षको सबैभन्दा प्रतिष्ठित ‘दीर्घ साधना सम्मान’ वरिष्ठ हास्य-अभिनेता मदनकृष्ण श्रेष्ठलाई प्रदान गरिएको छ। चलचित्र क्षेत्रमा दशकौँदेखि पुर्‍याएको योगदानको कदर गर्दै उनलाई रु ३ लाख ७५ हजारसहित सम्मान गरिएको हो।

यस वर्षको पुरस्कार वितरणमा चलचित्र ‘उनको स्वीटर’ ले प्रमुख विधामा प्रभाव जमाएको छ। सो चलचित्रले उत्कृष्ट चलचित्रको उपाधि हात पारेको छ भने निर्देशक नवीन चौहान उत्कृष्ट निर्देशक घोषित भएका छन्। त्यस्तै, सोही चलचित्रकी मिरुना मगर उत्कृष्ट अभिनेत्री बन्न सफल भएकी छन्।

उत्कृष्ट अभिनेता पुरस्कार चलचित्र ‘परान’ बाट वरिष्ठ कलाकार नीर शाहले प्राप्त गरेका छन्। त्यस्तै, सोही चलचित्रका लागि दीपकप्रसाद आचार्य र यम थापाले उत्कृष्ट लेखनको पुरस्कार जितेका छन्।

प्राविधिक विधातर्फ चलचित्र ‘कोशेढुंगा’ का बाबु श्रेष्ठले उत्कृष्ट छायाङ्कन र नहकुल खड्काले उत्कृष्ट सम्पादनको पुरस्कार प्राप्त गरेका छन्। नेपाल भाषाको चलचित्र ‘इन्दिरा धिमे मैचा’ लाई उत्कृष्ट आदिवासी चलचित्रको सम्मान प्रदान गरिएको छ।

जुरी प्रोत्साहन पुरस्कार आना शर्मा (रमिताको पिरती) र बिमोचन दवाडी (झरीपछीको इन्द्रेणी) लाई प्रदान गरिएको छ। ज्योतिराज राई निर्देशित चलचित्र ‘नाक्छोङ’ ले विशेष चलचित्र पुरस्कार प्राप्त गरेको छ।

समारोहमा चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरूलाई विशेष सम्मान समेत प्रदान गरिएको थियो। सम्मानित हुनेहरूमा चलचित्र प्रदर्शक विष्णु गोपाल श्रेष्ठ, अभिनेत्री मेनुका प्रधान, निर्माता डा. सिंह गुरुङ, पत्रकार प्रकाश सुवेदी, निर्देशक अभिनाश विक्रम शाह, अभिनेता रोहित रुम्बा, अभिनेत्रीहरू एञ्जिला सुब्बा र लक्ष्मी बर्देवा, निर्माता विनोद सेरचन र प्रोडक्सन म्यानेजर शङ्कर पाण्डे रहेका छन्। स्वर्गीय पत्रकार दिनेश सिटौलालाई मरणोपरान्त सम्मान गरिएको छ।

समारोहमा गायक–गायिका देविका बन्दना र नरहरी प्रेमीले सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा चलचित्रकर्मी, पत्रकार तथा विशिष्ट व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

विको मुख्य सूचीजेता

– दीर्घ साधना सम्मान: मदनकृष्ण श्रेष्ठ (रु ३,७५,०००)
– उत्कृष्ट चलचित्र: उनको स्वीटर (रु २५,०००)
– उत्कृष्ट निर्देशक: नवीन चौहान (रु २५,०००)
– उत्कृष्ट अभिनेता: नीर शाह (रु २५,०००)
-उत्कृष्ट अभिनेत्री: मिरुना मगर (रु २५,०००)
-उत्कृष्ट लेखक: दीपकप्रसाद आचार्य र यम थापा (रु २५,०००)
-उत्कृष्ट आदिवासी चलचित्र: इन्दिरा धिमे मैचा (रु २५,०००)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *