बर्डफ्लु संक्रमण देखिएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द [फोटो-फिचर]
काठमाडौं। ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका केही पन्छीमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ।
सदर चिडियाखानाको व्यवस्थापन गर्दै आएको राष्ट्रिय प्रकृति संरक्षण कोषले सूचना जारी गर्दै असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द रहने जनाएको हो।
कोषका अनुसार चिडियाखाना परिसरभित्र रहेका पन्छीमा बर्डफ्लु संक्रमण देखिएपछि थप संक्रमण फैलिन नदिन, जीवजन्तुको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न तथा आवश्यक नियन्त्रणात्मक उपायहरू लागू गर्न चिडियाखाना बन्द गर्ने निर्णय गरिएको हो।
चिडियाखाना बन्द भएसँगै सर्वसाधारणका लागि प्रवेशमा रोक लगाइएको छ। सम्बन्धित प्राविधिक निकाय र पशु स्वास्थ्य विज्ञहरूको समन्वयमा संक्रमण नियन्त्रण तथा निगरानीका कामहरू अघि बढाइएको जनाइएको छ।
कोषले परिस्थितिको निरन्तर मूल्याङ्कन गरिरहेको उल्लेख गर्दै अवस्था सामान्य भएपछि पुनः सञ्चालनबारे जानकारी गराइने जनाएको छ।
देशकै प्रमुख पर्यटकीय तथा शैक्षिक गन्तव्यमध्ये एक मानिने सदर चिडियाखाना अवलोकनका लागि दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्।
बर्डफ्लु संक्रमण पुष्टि भएपछि भने चिडियाखानाभित्र रहेका जीवजन्तुको स्वास्थ्य अवस्था, संक्रमणको दायरा तथा नियन्त्रणका उपायबारे थप अध्ययन र परीक्षणको काम भइरहेको छ।
तस्वीरहरू:












