`

अल्लु अर्जुनलाई अदालतमा हाजिर हुन आदेश ?

Nepal One HD ६ असार २०८३ १४:१४
चलचित्र

एजेन्सी। दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन कानुनी झमेलामा परेका छन्।

सन् २०२४ डिसेम्बर ४ मा फिल्म ‘पुष्पा-२’ को विशेष प्रदर्शनका क्रममा भएको भागदौड (भीड नियन्त्रण बाहिर गएर भएको दुर्घटना) सम्बन्धी मुद्दामा अदालतले उनलाई उपस्थित हुन आदेश दिएपछि उनी कानुनी प्रक्रियामा तानिएका हुन्।

हैदराबादस्थित नामपल्ली अदालतले घटनासँग सम्बन्धित व्यक्तिहरूलाई समन जारी गर्दै आगामी जुन २२ मा अदालतमा अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको छ।

घटना हैदराबादको संध्या थियटर बाहिर भएको थियो। विशेष प्रदर्शनका क्रममा आफ्नो मनपर्ने कलाकारलाई हेर्न हजारौँ दर्शक भेला भएपछि भीड अत्यधिक बढेको र अवस्था नियन्त्रण बाहिर गएको बताइएको छ।

उक्त भीडका बीच भएको भागदौडमा रेभती नामकी एक महिलाको ज्यान गएको थियो भने उनका छोरा श्री तेजा गम्भीर घाइते भएका थिए। घटनापछि प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको थियो।

प्रहरी अनुसन्धानका क्रममा अल्लु अर्जुनलाई आरोपी नम्बर ११ (ए–११) का रूपमा सूचीबद्ध गरिएको छ। थियटर व्यवस्थापनदेखि अन्य जिम्मेवार व्यक्तिहरूलाई पनि विभिन्न नम्बरका आरोपी बनाइएको छ।

कुल १९ जनालाई समन जारी गरिएको छ भने २३ जनाविरुद्ध अभियोग पत्र दायर भइसकेको विवरण सार्वजनिक भएको छ।

घटनापछि अभिनेता अल्लु अर्जुन र उनको परिवारले पीडित परिवारलाई आर्थिक सहयोग गरेको बताइएको छ। उनका पिता तथा चलचित्र निर्माता अल्लु अरविन्दले मृतक रेभतीको परिवारलाई २ करोड भारतीय रुपैयाँ सहयोग दिने घोषणा गरेका थिए।

हाल सबैको ध्यान जुन २२ मा हुने अदालत सुनुवाइमा केन्द्रित छ। उक्त सुनुवाइपछि घटनासम्बन्धी मुद्दाको आगामी कानुनी दिशा स्पष्ट हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *