`

अन्तर्राष्ट्रिय योग दिवसमा भक्तपुर दरबार क्षेत्रमा सामूहिक योगाभ्यास [फोटो-फिचर]

Nepal One HD ७ असार २०८३ १०:४२
जीवनशैली/स्वास्थ्य

भक्तपुर। अन्तर्राष्ट्रिय योग दिवस २०२६ को अवसरमा भक्तपुर दरबार क्षेत्रमा सर्वसाधारणको सहभागितामा सामूहिक योगाभ्यास कार्यक्रम सम्पन्न भएको छ।

‘योगमार्फत स्वस्थ रहौँ’ भन्ने सन्देशसहित आयोजित कार्यक्रममा विभिन्न उमेर समूहका नागरिकहरूले सहभागी भई योगाभ्यास गरेका थिए। कार्यक्रम खेलकुद तथा शिक्षा मन्त्रालय, भक्तपुर नगरपालिका र द आर्ट अफ लिभिङ नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

आयोजकका अनुसार योगलाई दैनिक जीवनशैलीको हिस्सा बनाउँदै शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण भक्तपुर दरबार क्षेत्रमा आयोजित योगाभ्यासले स्वास्थ्य चेतना फैलाउनुका साथै योगप्रति आकर्षण बढाउन सहयोग पुगेको विश्वास गरिएको छ।

कार्यक्रममा सहभागीहरूले योगले तनाव व्यवस्थापन, मानसिक सन्तुलन, शारीरिक तन्दुरुस्ती तथा समग्र स्वास्थ्य सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। योग प्रशिक्षकहरूले विभिन्न आसन, प्राणायाम तथा ध्यान अभ्यास गराउँदै सहभागीहरूलाई योगको महत्वबारे जानकारी दिएका थिए।

हरेक वर्ष जुन २१ मा मनाइने अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा नेपालसहित विश्वका विभिन्न देशमा योगसम्बन्धी कार्यक्रम आयोजना गरिने गरिन्छ।

यस वर्ष पनि देशका विभिन्न स्थानमा सामूहिक योगाभ्यास, स्वास्थ्य सचेतना कार्यक्रम तथा योग प्रशिक्षण कार्यक्रमहरू सञ्चालन भएका छन्।

तस्वीरहरू:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *