`

६१ वर्षीय आमिर खानले तेस्रो विवाह गर्दै

Nepal One HD ७ असार २०८३ १४:३६
चलचित्र

काठमाडौं। बलिउडका चर्चित अभिनेता आमिर खानले आफ्नी प्रेमिका गौरी स्प्रेटसँग आगामी जुलाई ५ मा विवाह गर्ने घोषणा गरेका छन्।

६१ वर्षीय अभिनेता खानको यो तेस्रो विवाह हुने भएको हो।

उनले यो विवाह अत्यन्तै साधारण र निजी रूपमा सम्पन्न गर्ने योजना बनाएका छन्। विवाहलाई ‘रजिस्टर्ड म्यारिज’ का रूपमा गर्ने तयारी गरिएको छ। जसमा परिवारका नजिकका सदस्य र केही सीमित साथीहरू मात्र सहभागी हुनेछन्।

आमिर खानले आफू र गौरी दुवै विवाहलाई तडकभडक र ठूलो समारोह बिना, शान्त र निजी रूपमा गर्न चाहेको बताएका छन्।

गत वर्ष आफ्नो ६० औं जन्मदिनको अवसरमा आमिरले गौरी स्प्रेटलाई सार्वजनिक रूपमा परिचय गराएका थिए। त्यसयता दुवै विभिन्न सार्वजनिक कार्यक्रममा सँगै देखिँदै आएका छन्। जसले उनीहरूको सम्बन्धलाई लिएर व्यापक चासो बढाएको थियो।

विवाहबारे केही समयदेखि चलेको हल्लालाई उनले हालै पुष्टि गरेका हुन्।

उनले आफ्नो सम्बन्धलाई गहिरो र प्रतिबद्ध बताउँदै भनेका छन्, ‘मैले मनैदेखि उनलाई आफ्नो श्रीमती मानिसकेको छु। अब यस सम्बन्धलाई कानुनी रूपमा औपचारिकता दिनु हाम्रो यात्राको स्वाभाविक कदम हो।’

अभिनेता खानले विवाहपछि केही समय चलचित्र क्षेत्रबाट विश्राम लिने पनि बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *