‘सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ’ : प्रधानमन्त्री शाह
चितवन। प्रधानमन्त्री तथा बालेन्द्र शाह ले सरकार सञ्चालन र कार्यशैलीबारे उठ्ने प्रश्नहरूको जवाफ दिने क्रममा आफ्नै शैलीमा धारणा प्रस्तुत गरेका छन्।
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारको यात्रालाई ‘एक्सप्रेस वेमा दौडिरहेको गाडी’सँग तुलना गरे।
सम्बोधनको सुरुवातमै उनले उपस्थित प्रतिनिधिहरूलाई ठट्टाको शैलीमा ‘नमस्ते’ भन्दै आफू बोल्न नचाहे पनि बोल्ने अवसर आइपरेको टिप्पणी गरेका थिए।
उनले नयाँ राजनीतिक शक्तिहरूको उदय सानो महत्वाकांक्षा र देश रूपान्तरणको तीव्र चाहनाबाट भएको उल्लेख गर्दै यस्ता शक्तिहरूलाई संस्थागत र मजबुत बनाउनु अहिलेको आवश्यकता भएको बताए।
सरकार सञ्चालनबारे उठ्ने आलोचना र सुझावप्रति संकेत गर्दै उनले केही नेताहरूले ‘गाडीमा एक्सेलेटरसँगै ब्रेक पनि हुनुपर्छ’ भन्ने गरेको प्रसंग उल्लेख गरे।
तर त्यसप्रति जवाफ दिँदै उनले भने, ‘धेरैले चिन्ता मान्नुभएको छ, सरकार भनेको गाडी जस्तो हो र यसमा ब्रेक पनि लगाउनुपर्छ भन्नुभएको छ। त्यस्तो चिन्ता लोकल रोडमा हिँड्दा मात्रै हुन्छ। हाम्रो गाडी एक्सप्रेस वेमा हिँडेको गाडी हो, यो रोकिँदैन, सिधै गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ।’
उनले आफ्नो कार्यशैली गन्तव्यमा केन्द्रित रहेको उल्लेख गर्दै देश परिवर्तनको लक्ष्यतर्फ कुनै ढिलाइ नगर्ने संकेत गरे।
कार्यक्रममा उनले रास्वपाको महाधिवेशनलाई संगठनात्मक रूपमा महत्वपूर्ण मोड भन्दै नयाँ राजनीतिक शक्तिहरूले देशको विकास र समृद्धिका लागि दृढ भएर अघि बढ्नुपर्ने धारणा पनि राखे।
चितवनमा जारी महाधिवेशन तीन दिनसम्म चल्नेछ, जसले पार्टीको नयाँ नेतृत्व चयन र आगामी राजनीतिक कार्यदिशा तय गर्नेछ।
