`

सुत्केरीको हेलिकप्टर उद्धार : गम्भीर अवस्थामा सुर्खेत पठाइयो

Nepal One HD ८ असार २०८३ ११:२५
जीवनशैली/स्वास्थ्य

हुम्ला। सुत्केरी व्यथाले गम्भीर बनेकी हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–१ हेक्का निवासी २८ वर्षीया सरिता लामाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

उनलाई थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल पठाइएको हो।

जिल्ला अस्पताल हुम्लामा उपचार सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको सिफारिसमा हवाई उद्धार गरिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख उमाकान्त तिवारीका अनुसार लामाको रक्तचाप अत्यधिक बढेर १७०/१२० पुगेको थियो। उपचारका क्रममा उनी बेहोस भएको र करिब पाँचपटकसम्म झड्का (सिजर) समेत आएको उनले बताए।

डा. तिवारीका अनुसार गर्भमा रहेको शिशु ३१ हप्ताको मात्रै भएको छ। भिडियो एक्सरे परीक्षणमा बच्चाको तौल करिब १,२०० ग्राम मात्र देखिएको र समयअगावै जन्मिने जोखिमका कारण थप विशेषज्ञ उपचार आवश्यक परेको उनले जानकारी दिए।

दुर्गम भौगोलिक अवस्था र जटिल स्वास्थ्य अवस्थाका कारण तत्काल हेलिकप्टर उद्धार गर्नुपरेको जनाइएको छ। अहिले आमाको अवस्था र शिशुको उपचारबारे अस्पतालले थप निगरानी गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *