`

बर्डफ्लुको जोखिममा काठमाडौं

Nepal One HD ८ असार २०८३ ११:५६
जीवनशैली/स्वास्थ्य

काठमाडौं। नेपालमा बर्डफ्लु संक्रमण पुनः तीव्र गतिमा फैलिन थालेको छ।

पूर्वी झापाबाट सुरु भएको संक्रमण क्रमशः चितवन हुँदै काठमाडौं उपत्यकासम्म पुगेको सरकारी अधिकारीहरूले बताएका हुन्।

हाल काठमाडौं, भक्तपुर र ललितपुरसहित काभ्रे जिल्लामा समेत संक्रमण देखिन थालेपछि जोखिम अझ बढ्दै गएको छ।

पशु सेवा विभागका एक अधिकारीका अनुसार काठमाडौं उपत्यका अहिले बर्डफ्लुको ‘हटस्पट’ क्षेत्रका रूपमा देखिएको छ। विशेषगरी काठमाडौंका चन्द्रागिरि, तारकेश्वर र कीर्तिपुर, साथै ललितपुरका गोदावरी, महालक्ष्मी र ललितपुर महानगर क्षेत्रमा संक्रमण बढी देखिएको छ।

उनका अनुसार खुला वातावरण, चराचुरुंगीको बाक्लो उपस्थिति तथा अव्यवस्थित कुखुरा फार्महरू संक्रमण फैलिन प्रमुख कारण बनेका छन्। बर्डफ्लुको प्रभावकारी उपचार वा खोप उपलब्ध नभएकाले संक्रमित कुखुरा नष्ट गर्नु नै नियन्त्रणको मुख्य उपाय भएको उनले बताए।

विभागका अनुसार फार्म वरपर जंगली चराको आवागमन, सिमसार क्षेत्र नजिक पोल्ट्री फार्म सञ्चालन, जैविक सुरक्षा मापदण्डको पालना नहुनु तथा बाहिरी व्यक्ति र सवारीसाधनको अनियन्त्रित प्रवेशले संक्रमण फैलिन सहज बनाएको छ।

त्यसैगरी अण्डा राख्ने क्रेट पुनः प्रयोग गर्ने अभ्यास, सरसफाइमा लापरबाही तथा पन्छी र मासु व्यवस्थापन एउटै समूहबाट गरिनु पनि जोखिम बढाउने कारणका रूपमा देखिएको छ। कोसी प्रदेशमा भने संक्रमण क्रमशः नियन्त्रणमा आउँदै गएको जनाइएको छ।

ललितपुरस्थित जावलाखेलको सदर चिडियाखानामा पनि बर्डफ्लु पुष्टि भएको छ। जेठ ३० गते मरेको कागको नमुना परीक्षणपछि असार ४ गते संक्रमण पुष्टि भएको जनाइएको छ। त्यहाँ केही वन्यजन्तु र चरामा संक्रमणका कारण मृत्यु भएको पुष्टि भए पनि अन्य पन्छीमा संक्रमण नदेखिएको उल्लेख छ।

नेपालमा सन् २०१९ मा बर्डफ्लु मानिसमा पनि देखिएको थियो, जसमा एक २१ वर्षीय युवकको मृत्यु भएको थियो।

सरुवारोग विशेषज्ञका अनुसार पशुपन्छीसँग प्रत्यक्ष सम्पर्कमा रहने किसान, ढुवानीकर्ता तथा बिक्री–वितरणमा संलग्न व्यक्ति बढी जोखिममा छन्। संक्रमण भएमा ज्वरो, खोकी, घाँटी दुख्ने, निमोनिया र श्वासप्रश्वासमा गम्भीर समस्या देखिन सक्ने र गम्भीर अवस्थामा ज्यानसमेत जान सक्ने चेतावनी दिइएको छ।

विशेषज्ञहरूका अनुसार एच५एन१ प्रकारको बर्डफ्लु सबैभन्दा खतरनाक मानिन्छ। यो भाइरस चरा प्रजातिमा छिटो फैलिने मात्र नभई दुर्लभ अवस्थामा मानिसमा पनि सर्न सक्ने क्षमता राख्छ। भाइरस म्युटेसन हुने भएकाले यसको व्यवहार परिवर्तनशील हुने बताइन्छ, जसले नियन्त्रणलाई थप जटिल बनाउँछ।

पशु सेवा विभागले बिरामी वा मरेका पन्छी नछुन, फार्ममा मास्क, पन्जा, एप्रोन र बुट अनिवार्य प्रयोग गर्न तथा कामपछि साबुनपानीले राम्रोसँग हात धुन आग्रह गरेको छ। साथै पन्छीजन्य मासु पूर्ण रूपमा पकाएर मात्र खान र चराचुरुंगी धेरै हुने स्थानमा सतर्क रहन चिकित्सकहरूले सुझाव दिएका छन्।

समयमै नियन्त्रण नभए बर्डफ्लु ठूलो जनस्वास्थ्य संकटको रूप लिन सक्ने जोखिम कायमै रहेको विज्ञहरूले चेतावनी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *