`

रास्वपा महाधिवेशन : धमाधम प्रतिनिधिको कार्ड वितरण सुरु

Nepal One HD ९ असार २०८३ १०:५९
राजनीति

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले महाधिवेशनको बन्दसत्र दिउँसो १ बजेपछि सुरु हुने जानकारी दिएका छन्।

प्राविधिक कारणले हिजो बन्दसत्र सुरु गर्न नसकिएको उनले स्पष्ट पारे।

हाल महाधिवेशन प्रतिनिधिहरूका लागि प्रवेश कार्ड वितरणको काम जारी रहेको छ। सो प्रक्रिया पूरा भएपछि खाना समयपश्चात बन्दसत्र औपचारिक रूपमा सुरु गरिने तयारी गरिएको पार्टीले जनाएको छ।

पराजुलीका अनुसार प्रारम्भमा अनुमान गरिएको २८ सयदेखि ३ हजारसम्म प्रतिनिधिको संख्या बढेर ४२ सयभन्दा बढी पुगेपछि व्यवस्थापनमा केही प्राविधिक समस्या देखिएको हो। उनले यही कारणले हिजो कार्यक्रम सुरु गर्न नसकिएको बताए।

उनले भने, ‘इस्टिमेट गरिएको २८ सय/तीन हजार महाधिवेशन प्रतिनिधिको संख्या बढेर ४२ सय प्लस हुँदै गर्दाखेरि केही प्राविधिक त्रुटिका कारण हिजो हामीले सुरु गर्न सकेनौं,’ उनले भने, ‘आज यतिखेर हलबाट महाधिवेशन प्रतिनिधिको प्रवेश कार्ड वितरण सुरु भइसकेको छ । त्यो सकिनेबित्तिकै हामी खाना खाएर आजको बन्दसत्र सुरु गर्दैछौं ।’

उनका अनुसार सबै पूर्वतयारीका प्रक्रिया पूरा भइसकेका छन् र अब बाँकी औपचारिकता सम्पन्न भएपछि कार्यक्रम अघि बढाइनेछ।

पराजुलीले महाधिवेशन प्रतिनिधि तथा सञ्चारकर्मीहरूलाई परेको असुविधाप्रति क्षमासमेत मागेका छन्।

यसैबीच, रास्वपा महाधिवेशनको व्यवस्थापन र सहभागी संख्या बढेसँगै कार्यक्रम सञ्चालनमा थप समन्वय आवश्यक परेको पार्टी स्रोतले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *