`

रास्वपा महाधिवेशन: यस्तो छ बन्दसत्रको कार्यतालिका

Nepal One HD ९ असार २०८३ ११:५६
राजनीति

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्रका कार्यक्रमहरूको विस्तृत कार्यतालिका सार्वजनिक गरिएको छ।

पार्टीले राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै नेतृत्व चयनको निर्वाचन प्रक्रिया अघि बढाउने जनाएको हो।

पार्टीका अनुसार मंगलबार दिउँसो २ बजे सभापति रवि लामिछानेले बन्दसत्रको औपचारिक प्रारम्भ गर्नेछन्। त्यसपछि विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने र छलफल गर्ने क्रम अघि बढ्नेछ।

कार्यतालिका अनुसार २ बजेर १० मिनेटदेखि अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गरिनेछ र सोही विषयमा छलफल हुनेछ। त्यसपछि २ः३० देखि ३ बजेसम्म आर्थिक तथा वित्तीय प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम तय गरिएको छ।

त्यस्तै, ३ बजेदेखि ३ः४५ बजेसम्म सांगठनिक प्रतिवेदनमाथि छलफल हुनेछ भने ३ः४५ देखि ४ः४५ बजेसम्म पार्टीको विधान संशोधन प्रस्ताव प्रस्तुत गरी अनुमोदन गर्ने कार्यसूची रहेको छ।

४ः४५ देखि ५ः१५ बजेसम्म ‘राष्ट्रिय स्वार्थ’ सम्बन्धी राजनीतिक प्रस्तावना प्रस्तुत गरिनेछ। त्यसपछि ५ः१५ बजेदेखि राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम राखिएको छ।

त्यसपछि प्रतिवेदनमाथि छलफल तथा सुझाव संकलनको चरण अघि बढाइने कार्यतालिका रहेको पार्टीले जनाएको छ। सोही क्रममा निर्वाचन प्रक्रियासम्बन्धी विस्तृत जानकारी पनि सार्वजनिक गरिनेछ।

यसैबीच, प्रतिनिधि परिचयपत्र वितरणको काम अहिले तीव्र गतिमा भइरहेको छ। पार्टीका अनुसार वितरण प्रक्रिया छिटो सम्पन्न गर्न विभिन्न नौ स्थानबाट एकैसाथ काम सुरु गरिएको छ।

बन्दसत्र सुरु हुनुअघि सबै प्रतिनिधिहरूको दर्ता र परिचयपत्र व्यवस्थापन पूरा गर्ने लक्ष्य राखिएको पार्टीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *