पाहुनालाई अपमान गर्ने सांसदलाई कारबाही हुनुपर्ने पक्षमा मनिष झा [भिडियो]
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टी कार्यक्रममा आमन्त्रित अतिथिहरूमाथि अपमानजनक टिप्पणी गर्ने विषयमा पार्टीले आवश्यक निर्णय लिन सक्ने संकेत गरेका छन्।
भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीको औपचारिक कार्यक्रममा बोलाइएका अतिथिलाई लक्षित गरेर कुनै पनि प्रकारको अपमान स्वीकार्य नहुने स्पष्ट पारे। उनका अनुसार यस्तो विषयमा निर्णय गर्ने अधिकार नयाँ निर्वाचित कार्यसमितिसँग सम्बन्धित रहनेछ।
रास्वपा महाधिवेशनका क्रममा सांसद खगेन्द्र सुनारले शुभकामना दिन पुगेका नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका नेता प्रदीप ज्ञवालीसहितका नेताहरूबारे तुच्छ टिप्पणी गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विवाद उत्पन्न भएको हो।
सो विषयमा पत्रकारहरूले राखेको प्रश्नको जवाफ दिँदै प्रवक्ता झाले भने, ‘बोलाइएका अतिथिलाई कसैले अपमान गर्न मिल्दैन, आवश्यक परेमा कारबाही गर्ने जिम्मा नयाँ कार्यसमितिको हुन्छ।’
घटनापछि पार्टीभित्र अनुशासन र सार्वजनिक व्यवहारबारे पुनः बहस सुरु भएको देखिएको छ।
