वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक ‘मदनकृष्ण’ बन्दै
काठमाडौं । नेपाली हास्य–अभिनय क्षेत्रका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवन कथामा आधारित बायोपिक फिल्म निर्माण हुने भएको छ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्मको औपचारिक घोषणा गरिएको हो।
फिल्मको शुभारम्भ मदनकृष्ण श्रेष्ठ स्वयं तथा उनका दीर्घ सहयात्री कलाकार हरिवंश आचार्यले संयुक्त रूपमा गरेका हुन्।
निर्माण हुने बायोपिकले मदनकृष्ण श्रेष्ठको बाल्यकालदेखि कलाकारिताको यात्रा, व्यक्तिगत जीवनका उतारचढाव, संघर्ष तथा सफलताको कथा समेट्नेछ। साथै सरकारी सेवाको अनुभव, हरिवंश आचार्यसँगको सहकार्य र अन्तरजातीय विवाहजस्ता महत्वपूर्ण पक्ष पनि फिल्ममा प्रस्तुत गरिने जनाइएको छ।
फिल्मको निर्देशन मिलन चाम्सले गर्ने भएका छन्। यसअघि उनले ‘अञ्जिला’, ‘ब्लाइन्ड रक्स’ र ‘बबी’ जस्ता बायोपिक तथा कथामूलक फिल्म निर्देशन गरिसकेका छन्।
मुख्य भूमिकामा अभिनेता महेश त्रिपाठी मदनकृष्ण श्रेष्ठको भूमिकामा देखिनेछन् भने उनकी पत्नी यशोदाको भूमिकामा अभिनेत्री केकी अधिकारी रहनेछिन्। चलचित्रमा राजाराम पौडेल, किरण केसी, रूषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनाललगायत कलाकारहरूको पनि अभिनय रहनेछ।
हरिवंश आचार्यको भूमिका कसले निर्वाह गर्ने भन्ने विषय भने अझै सार्वजनिक गरिएको छैन।
कार्यक्रममा धिमे बाजासहित कलाकार श्रेष्ठको स्वागत गरिएको थियो। सम्मान तथा शुभकामनाका क्रममा उनी भावुक बनेका थिए। उनले आफ्नो जीवनमा हरिवंश आचार्यको योगदान महत्वपूर्ण रहेको स्मरण गर्दै फिल्मले दर्शकलाई आफ्नो जीवन नजिकबाट बुझ्ने अवसर दिने बताए।
हरिवंश आचार्यले यो बायोपिक आफ्ना लागि पनि गर्वको विषय भएको उल्लेख गर्दै फिल्मले मदनकृष्ण श्रेष्ठको जीवनकथालाई न्याय गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले बायोपिक निर्माण चुनौतीपूर्ण भए पनि नेपाली फिल्म उद्योगका लागि महत्वपूर्ण उपलब्धि हुने बताए।
निर्माण टोलीका अनुसार फिल्मको छायांकन भदौ दोस्रो सातादेखि सुरु गरिने तयारी छ। निर्माणमा भिन्टेज मोसन पिक्चर्स संलग्न रहेको छ भने कथावस्तु यम थापाले लेखेका छन्। डीओपी पदमबहादुर श्रेष्ठ, सम्पादन मिलन श्रेष्ठ, ब्याकग्राउन्ड म्युजिक अलिश कार्की र साउन्ड डिजाइन भरत कँडेलले गर्नेछन्।
फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहनेछ।
