`

रविले स्वीकारे महाधिवेशनमा भएको कमजोरी

Nepal One HD ९ असार २०८३ १६:४४
बिशेष

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रथम राष्ट्रिय महाधिवेशनका क्रममा केही प्रक्रियागत कमजोरी र व्यवस्थापकीय त्रुटि देखिएको स्वीकार गरेका छन्।

उनले यस्ता विषयलाई अस्वाभाविक रूपमा नलिई सुधारको अवसरका रूपमा हेर्नुपर्ने बताएका हुन्।

बन्दसत्रलाई सम्बोधन गर्दै लामिछानेले ठूलो आकारको कार्यक्रम आयोजना गर्दा विभिन्न चुनौती र कमजोरी देखिन सक्ने उल्लेख गरे। सहभागीहरूका केही असन्तुष्टि, जिज्ञासा र प्रश्नहरू स्वाभाविक रहेको भन्दै उनले त्यसलाई पार्टीभित्रै छलफल गरेर समाधान गर्नुपर्ने धारणा राखे।

उनका अनुसार कुनै पनि राजनीतिक दलको परिपक्वता समस्या नआउनुमा होइन, समस्या आएपछि त्यसलाई कसरी समाधान गरिन्छ भन्ने विषयमा निर्भर हुन्छ। उनले मतभेद र असहमतिलाई संवाद र छलफलमार्फत निष्कर्षमा पुर्‍याउनु नै जिम्मेवार राजनीतिक अभ्यास हुने बताए।

पार्टीभित्र देखिएका फरक मत र असन्तुष्टिलाई सार्वजनिक विवादको विषय बनाउनु उपयुक्त नहुने उनको भनाइ थियो। उनले पार्टीभित्र उठेका प्रश्न र मतभेदलाई संस्थागत प्रक्रियाबाट समाधान गर्दै संगठनलाई अझ सुदृढ र एकताबद्ध बनाउनु आवश्यक रहेको बताए।

लामिछानेले रास्वपा आफ्ना आन्तरिक चुनौतीहरूलाई लोकतान्त्रिक ढंगले समाधान गर्न सक्षम रहेको दाबी गर्दै स्वस्थ बहस, पारदर्शिता र संवादको संस्कृतिलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।

उनले महाधिवेशनले संगठनभित्र रहेका मतभेद अन्त्य गर्दै आगामी राजनीतिक यात्राका लागि स्पष्ट दिशा तय गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *