‘कार्की साइँला’को प्रदर्शन मिति सरेर असोजमा
काठमाडौं। अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’ अब आगामी असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।
निर्माण टिमले बुधबार नयाँ पोस्टर सार्वजनिक गर्दै संशोधित प्रदर्शन मिति घोषणा गरेको हो।
यसअघि साउन १ गते रिलिज हुने तयारीमा रहेको चलचित्र विभिन्न कारणले प्रदर्शन तालिका परिवर्तन गर्दै असोजमा सारिएको जनाइएको छ।
सार्वजनिक गरिएको नयाँ पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री प्रियना आचार्यलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ। पोस्टरमा देखिएको प्रेमिल दृश्यले चलचित्रमा प्रेम, संघर्ष र जीवनयात्राको कथावस्तु समेटिएको संकेत गरेको छ।
चलचित्रको कथा एक भरियाको जीवन, उसका संघर्ष, सपना र सामाजिक यथार्थको वरिपरि केन्द्रित रहेको बताइएको छ। चलचित्रको छायांकन पूर्वी नेपालका विभिन्न रमणीय स्थानमा गरिएको छ। धनकुटा, वराहक्षेत्र र चतरा आसपासका क्षेत्र चलचित्रका प्रमुख छायांकन स्थल हुन्।
राजेन्द्र बस्नेतको निर्देशनमा तयार भएको चलचित्रमा जितु नेपाल र प्रियना आचार्यसँगै सुशील पोखरेल, वीरेन्द्रसिंह कुशवाह, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई तथा कमल देवकोटालगायत कलाकारको अभिनय रहेको छ।
कर्णबहादुर फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता बालकुमार राई हुन् भने कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ताका रूपमा रहेका छन्। कार्यकारी निर्माताको जिम्मेवारी अनन्त राईले सम्हालेका छन्।
सबिन अधिकारी र शंकर धितालको लेखन रहेको चलचित्रमा दिप्सन लिम्बुको संगीत, किरण दाहालको द्वन्द्व निर्देशन तथा प्राविधिक टिमको अन्य सहकार्य रहेको छ।
