‘सेरोफ्लो रोटाक्याप्स’ जस्तै नक्कली औषधि फेला
काठमाडौं । दम तथा सिओपिडी (क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज) को उपचारमा प्रयोग हुने चर्चित औषधि ‘सेरोफ्लो रोटाक्याप्स’ जस्तै देखिने नक्कली औषधि नेपाली बजारमा बिक्री-वितरण भइरहेको फेला परेको छ।
औषधि व्यवस्था विभागले बुधबार अत्यन्त जरुरी सूचना जारी गर्दै भारतीय औषधि उत्पादक कम्पनी सिप्ला लिमिटेड द्वारा उत्पादन हुने ‘सेरोफ्लो रोटाक्याप्स’ नामको औषधिको नक्कली संस्करण बजारमा भेटिएको जनाएको हो।
विभागले चिकित्सक, फार्मासिस्ट, अस्पताल, औषधि व्यवसायी तथा सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै सक्कली औषधिमात्र सिफारिस, बिक्री तथा प्रयोग गर्न अनुरोध गरेको छ।
सक्कली र नक्कली औषधि कसरी छुट्याउने?
विभागका अनुसार ब्याच नम्बर ‘५एसए०७५९’ (उत्पादन मिति : अप्रिल २०२५, म्याद सकिने मिति : मार्च २०२७) भएको नक्कली औषधिमा केही स्पष्ट भिन्नता देखिएका छन्।
‘कसन’ सम्बन्धी सूचनामा ‘नट टु बी स्वालोड’ पछाडि सक्कली औषधिमा कालो रङको पूर्णविराम रहेको छ भने नक्कलीमा रातो रङको पूर्णविराम प्रयोग गरिएको पाइएको छ।
त्यस्तै उत्पादकको ठेगानामा ‘कुम्रेक’ शब्दपछि सक्कलीमा अल्पविराम (,) राखिएको छ भने नक्कलीमा पूर्णविराम (।) प्रयोग गरिएको विभागले जनाएको छ।
भित्री प्याकेजिङमा पनि फरक देखिएको छ। सक्कली औषधिको भित्री बट्टामा एउटा मात्र लेबल हुन्छ भने नक्कलीमा पुरानो लेबलमाथि अर्को लेबल टाँसिएको भेटिएको छ।
यस्तै चेतावनी सूचनामा लेखिएको ‘स्केड्युल एच प्रेस्क्रिप्सन ड्रग’ वाक्यांशमा पनि अन्तर देखिएको छ। सक्कलीमा ‘स्केड्युल’ र ‘एच’ छुट्टाछुट्टै लेखिएको हुन्छ भने नक्कलीमा ‘स्केड्युलएच’ जोडेर छापिएको पाइएको छ।
विभागले यस्तो औषधि प्रयोग गरिरहेका बिरामीलाई तत्काल प्रयोग बन्द गर्न र आफूले खरिद गरेको औषधि पसल वा फार्मेसीलाई जानकारी दिन आग्रह गरेको छ।
फार्मेसी तथा औषधि पसलहरूलाई बिक्री रोक्न, मौज्दात छुट्याएर थोक विक्रेतालाई फिर्ता गर्न तथा विभागलाई जानकारी गराउन भनिएको छ।
त्यस्तै थोक विक्रेताहरूलाई बजारमा पठाइसकेको परिमाण फिर्ता मागेर पुनः बिक्री हुन नदिने गरी छुट्टै भण्डारण गर्न र विभागलाई लिखित जानकारी दिन निर्देशन दिइएको छ।
‘सेरोफ्लो रोटाक्याप्स’ किन प्रयोग गरिन्छ?
‘सेरोफ्लो रोटाकाप्स’ श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन रोगहरूको उपचार तथा नियन्त्रणका लागि प्रयोग हुने औषधि हो। यसमा ‘साल्मेटेरोल’ र ‘फ्लुटिकासोन प्रोपियोनेट’ नामक दुई औषधीय तत्वको संयोजन हुन्छ।
यो औषधि मुख्यतः दमका बिरामीमा सास फेर्न सहज बनाउन तथा छाती घ्यारघ्यार हुने समस्या नियन्त्रण गर्न प्रयोग गरिन्छ। साथै, सिओपिडीका बिरामीमा श्वासनली खुला राख्न र नियमित श्वासप्रश्वास सहज बनाउन पनि यसको प्रयोग गरिन्छ।
नक्कली औषधिको प्रयोगले उपचार प्रभावहीन हुनुका साथै स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले विभागले सबै सरोकारवालालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
