बालेनका डेढ दर्जन नेता चुनावी मैदानबाहिर,बालेन फर्किए काठमाडौं
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा केन्द्रीय समिति चयनका लागि चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा पार्टीभित्र अर्को समानान्तर राजनीतिक समीकरण पनि चर्चामा आएको छ।
९९ केन्द्रीय सदस्यका लागि ३५५ उम्मेदवार चुनावी मैदानमा उत्रिएका बेला प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) निकट मानिने करिब डेढ दर्जन प्रभावशाली नेताहरू भने प्रतिस्पर्धाबाट बाहिर देखिएका हुन्।
महाधिवेशनस्थलमा प्रतिनिधिहरूसँग मत माग्दै उम्मेदवारहरू दौडधुप गरिरहेका छन्। तर बालेन समूहका अधिकांश नेताले उम्मेदवारी नै नदिई मनोनयनमार्फत केन्द्रीय समिति र पदाधिकारीमा पुग्ने रणनीति रोजेको चर्चा भइरहेको छ।
सभापति पदमा रवि लामिछाने सर्वसम्मत निर्वाचित भइसकेका छन्। अब केन्द्रीय सदस्य र त्यसपछि पदाधिकारी चयनको प्रक्रिया अघि बढिरहेको छ। यस्तै बेला बालेन शाह भने मतदानअघि नै काठमाडौं फर्किएका छन्। महाधिवेशनस्थलमा रहेका नेताहरूका अनुसार वरिष्ठ नेताको भूमिकामा मनोनयन हुने लगभग निश्चित भएपछि उनी राजधानी फर्किएका हुन्।
रास्वपाको विधानले सभापतिलाई निश्चित संख्यामा केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार दिएको छ। त्यही व्यवस्थाअनुसार विभिन्न राजनीतिक पृष्ठभूमिबाट आएका नेताहरूलाई समेट्ने तयारी भइरहेको बताइन्छ। यसले चुनावी प्रतिस्पर्धामा नउत्रिएका केही नेताहरूलाई नेतृत्व तहमा पुग्ने सम्भावना खुला राखेको छ।
बालेन समूहबाट रास्वपामा समाहित भएका नेतामध्ये शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसहित सीमित व्यक्तिले मात्रै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार मन्त्री सुनिल लम्साल, भूपदेव शाह, लक्ष्मण थारू, रमेश पौडेल, सन्तोष गिरी, सरिता ज्ञवाली, जेम्स कार्की, लक्ष्मी बर्देवा, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, मधुसुधन ढकाल, ओजश्वी थापा, आदित्य आचार्य, प्रदीप पाण्डे तथा खेमराज साउदलगायत नेताहरू चुनावी प्रतिस्पर्धामा नदेखिएको चर्चा महाधिवेशनस्थलमा छ।
पर्यटनमन्त्री गनेस पौडेलले त सार्वजनिक रूपमै आफू केन्द्रीय सदस्यको उम्मेदवार नबन्ने र कसैको प्रस्तावकसमेत नबन्ने घोषणा गरिसकेका छन्।
महाधिवेशनअघि नै सभापति रवि लामिछानेले पार्टीभित्र समायोजन भएर आएका विभिन्न समूहलाई सन्तुलित रूपमा समेट्ने संकेत दिएका थिए। विवेकशील साझा, थरुहट आन्दोलन तथा अन्य अभियानबाट आएका नेताहरूलाई मनोनयनमार्फत अवसर दिने विषयमा नेतृत्व सकारात्मक रहेको बुझाइ छ।
पदाधिकारीमा कसको दाबी बलियो?
रास्वपाको संशोधित विधानअनुसार पदाधिकारी बन्न केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था छ। तर सभापतिले मनोनयन गरेका केन्द्रीय सदस्यलाई पदाधिकारीमा समेत मनोनयन गर्न सक्ने अधिकार राखेकाले चुनाव नलडेका नेताहरूको सम्भावना कायमै छ।
यही कारण बालेन समूहका सुनिल लम्सालले उपसभापति र भूपदेव शाहले महामन्त्री पदमा आकांक्षा राखेको चर्चा छ।
यसपटक रास्वपाले पदाधिकारी संख्या बढाएर १९ पुर्याएको छ। सभापति, वरिष्ठ नेता, उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता, सहप्रवक्ता, कोषाध्यक्ष र सहकोषाध्यक्षसहितको नयाँ संरचनाले नेतृत्व चयनलाई थप रोचक बनाएको छ।
निर्वाचनमार्फत ९९ केन्द्रीय सदस्य चयन भएपछि तिनैमध्येबाट दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री छानिनेछन्। बाँकी पदाधिकारी सभापतिको मनोनयनबाट आउने व्यवस्था छ।
महिला उपसभापतिमा कानुनमन्त्री सोबिता गौतम, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र लिमा अधिकारीको नाम चर्चामा छ। खुला महामन्त्रीतर्फ निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी, विपिन आचार्य, शिशिर खनाल, मनिष झा, गणेश पराजुली र यज्ञमणि न्यौपानेबीच प्रतिस्पर्धा हुने देखिएको छ।
त्यसैगरी डा. तोसिमा कार्कीलाई पनि उपसभापति वा महामन्त्रीमध्ये कुनै एक पदको बलियो दाबेदारका रूपमा हेरिएको छ।
महाधिवेशनले रास्वपाको आगामी शक्ति सन्तुलन, नेतृत्वको स्वरूप र विभिन्न समूहबीचको सम्बन्धलाई समेत स्पष्ट पार्ने भएकाले चुनावी प्रतिस्पर्धासँगै मनोनयन राजनीतिले पनि उत्तिकै चर्चा पाएको छ।
१५१ सदस्यीय केन्द्रीय समितिमा सात प्रदेशका सभापति पदेन सदस्य रहने व्यवस्थासहित पार्टीको केन्द्रीय संरचना १५८ सदस्यीय हुने छ।
