`

रास्वपा महाधिवेशनका कारण संसद शुक्रबार बस्ने

Nepal One HD १० असार २०८३ १५:३८
बिशेष

काठमाडौं। प्रतिनिधिसभाको बैठक एक दिन पर सारिएको छ। बिहीबार बिहान ११ बजेका लागि तय गरिएको बैठक अब शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार सूचना जारी गर्दै विशेष कारणवश तोकिएको समयमा बैठक सञ्चालन हुन नसक्ने जानकारी दिएका हुन्।

प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको नयाँ मिति र समय निर्धारण गरेको सूचनामा उल्लेख छ।

सूचनाअनुसार असार ११ गते बिहीबार बिहान ११ बजे बस्ने तय भएको बैठक अब असार १२ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ।

संसद् सचिवालयले बैठक सारिनुको कारण औपचारिक रूपमा खुलाएको छैन। तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन निर्धारित समयभन्दा लम्बिएपछि बैठकको कार्यतालिका प्रभावित भएको जनाइएको छ।

चितवनमा जारी रास्वपाको महाधिवेशनमा केन्द्रीय समिति तथा पदाधिकारी चयनको प्रक्रिया चलिरहेकाले पार्टीका मन्त्री, सांसद र नेताहरू महाधिवेशनमै व्यस्त छन्। महाधिवेशनको निर्वाचन प्रक्रिया अपेक्षाभन्दा लामो भएपछि संसद् बैठकको समयसमेत पुनः निर्धारण गरिएको बुझिएको छ।

प्रतिनिधिसभाको बैठक स्थगित भएसँगै संसद्मा प्रस्तुत हुने विधेयक, प्रश्नोत्तर तथा अन्य कार्यसूचीहरू अब शुक्रबारको बैठकमा प्रवेश गर्नेछन्।

यता रास्वपाको महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *