रास्वपाकाे बन्दसत्र भद्रगाेल, घर फर्किँदै प्रतिनिधिहरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनकाे बन्दसत्र भद्रगोल भएपछि प्रतिनिधिहरू धमाधम घर फर्किन थालेका छन्।
महाधिवेशनमा बन्दसत्रकाे कार्यतालिका पटकपटक प्रभावित हुँदा र निर्वाचन प्रक्रिया अनिश्चित बन्दै जाँदा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरू निराश र आक्रोशित बनेका छन् र उनीहरु घर फर्किन थालेका हुन् ।
असार ७ देखि ९ गतेसम्म सञ्चालन गर्ने भनिएकाे महाधिवेशन उद्घाटन सत्रपछि नै बन्दसत्र अन्योलमा फसेको थियो।
सुरुमा निर्धारित समयमा बन्दसत्र सञ्चालन हुन सकेन। प्रतिनिधिहरूलाई लामो समय पर्खाइएपछि मात्र बन्दसत्र सुरु गरिएको थियो।
करिब ३१ घण्टासम्म प्रतीक्षा गराइएका प्रतिनिधिहरूले बन्दसत्र भने तीन घण्टामै सकिएको देखेपछि व्यवस्थापनप्रति असन्तुष्टि जनाएका थिए।
बन्दसत्र सकिएलगत्तै निर्वाचन प्रक्रिया अघि बढाउने भनिए पनि उम्मेदवारी दर्तापछि मतदानको तयारी समयमै पूरा हुन सकेन।
मंगलबार उम्मेदवारी दर्ता सम्पन्न भए पनि २४ घण्टाभन्दा बढी समय बित्दा समेत मतदान सुरु हुन नसकेपछि महाधिवेशनस्थलमा अन्योल बढेको हो।
निर्वाचन तालिका पटकपटक प्रभावित हुँदा प्रतिनिधिहरूको धैर्यता समेत टुट्न थालेको छ।
महाधिवेशनमा देशभरबाट चार हजारभन्दा बढी प्रतिनिधि सहभागी भएका छन्। तर, बसाइ लम्बिँदै जाँदा कतिपय प्रतिनिधि आफ्नै खर्चमा चितवनमा थप दिन बस्न नसक्ने अवस्थामा पुगेका छन् भने कतिपयले व्यक्तिगत र व्यावसायिक कामको कारण देखाउँदै घर फर्कन थालेका छन्।
बुधबार साँझसम्म महाधिवेशनस्थलको चहलपहल उल्लेखनीय रूपमा घटेको देखिएको छ ।
रास्वपाका नेता विपिन आचार्यले पनि महाधिवेशन लम्बिँदा केही प्रतिनिधि फर्किएको स्वीकार गरेका छन्।
उनका अनुसार निर्वाचन प्रक्रिया सम्पन्न गरी महाधिवेशन टुंग्याउने प्रयास भइरहेको छ। तर प्रतिनिधिहरू भने सार्वजनिक गरिएका तालिकाअनुसार मतदान हुनेमा अझै विश्वस्त हुन सकेका छैनन्।
महाधिवेशनस्थलमा अहिले प्रतिनिधिभन्दा उम्मेदवारको उपस्थिती बढी देखिन थालेको छ।
उम्मेदवारहरू पनि मतदान कहिले सुरु हुन्छ भन्ने अन्योलमा छन्। केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नामावलीअनुसार केन्द्रीय सदस्य पदका लागि ३८४ जनाको उम्मेदवारी परेको छ।
उम्मेदवारको संख्या धेरै भएकाले मतदान प्रक्रिया लामो हुने र रातभर चल्न सक्ने निर्वाचन प्राविधिकहरूले बताएका छन्।
रास्वपाले आफूलाई वैकल्पिक र व्यवस्थित राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्दै आएको भए पनि महाधिवेशनमा देखिएको अव्यवस्था र कार्यतालिकाको असफल व्यवस्थापनले पार्टीको संगठनात्मक क्षमता र तयारीमाथि प्रश्न उठाएको छ।
बन्दसत्रपछि बढेको अन्योलका कारण प्रतिनिधिहरू नै फर्किन थालेपछि महाधिवेशनको प्रभावकारिता र वैधानिकताबारे समेत चासो बढ्न थालेको छ।
