`

रास्वपा महाधिवेशन डामाडोल : ५० प्रतिशत बढी प्रतिनिधि घर फर्किए

Nepal One HD ११ असार २०८३ ११:०१
बिशेष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अपेक्षाभन्दा लामो समयसम्म तानिँदा प्रतिनिधिहरू चितवनबाट घर फर्किन थालेका छन्।

केन्द्रीय सदस्य पदका लागि मतदान प्रक्रिया जारी रहेकै बेला ठूलो संख्यामा प्रतिनिधिहरू महाधिवेशन स्थल छाडेर फर्किन थालेपछि आगामी पदाधिकारी निर्वाचन प्रभावित हुन सक्ने चर्चा सुरु भएको छ।

महाधिवेशनको चौथो दिनसम्म पनि निर्वाचन प्रक्रिया नसकिँदा प्रतिनिधिहरूमा थकान र अन्योल बढेको बताइएको छ।

९९ सदस्यीय केन्द्रीय समितिका लागि मतदान चलिरहेका बेला धेरै प्रतिनिधि व्यक्तिगत तथा व्यावसायिक कारण देखाउँदै फर्किन थालेका हुन्।

महाधिवेशनमा सहभागी एक उम्मेदवारका अनुसार आधाभन्दा बढी प्रतिनिधि चितवन छाडिसकेका छन्। यद्यपि रास्वपाको केन्द्रीय निर्वाचन आयोगले मतदानमा सहभागी प्रतिनिधिको यकिन संख्या सार्वजनिक गरेको छैन।

पार्टी स्रोतका अनुसार महाधिवेशनमा करिब ४ हजार १ सय प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको थियो।

रास्वपाको निर्वाचन कार्यतालिकाअनुसार सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएपछि मात्रै पदाधिकारी चयन प्रक्रिया अघि बढ्नेछ। तर केन्द्रीय सदस्यको मतदान नै ढिलो भएपछि पदाधिकारी निर्वाचनको मिति र समय अझै टुंगो लाग्न सकेको छैन।

निर्वाचन आयोगले पदाधिकारी निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक नगरेकाले प्रतिनिधिहरू कहिलेसम्म बस्नुपर्ने भन्ने अन्योल पनि देखिएको छ। यही कारण कतिपय प्रतिनिधि परिणाम पर्खनुभन्दा आफ्नै गन्तव्यतर्फ फर्किन थालेका छन्।

पार्टीभित्र पदाधिकारी चयनलाई महाधिवेशनको सबैभन्दा महत्वपूर्ण चरण मानिएको छ। उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत पदका लागि प्रतिस्पर्धा हुने भएकाले प्रतिनिधिहरूको उपस्थितिले निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको थियो। तर प्रतिनिधिहरूको संख्या घट्दै जाँदा पदाधिकारी निर्वाचनको वैधानिकता, सहभागिता र प्रतिनिधित्वबारे पनि प्रश्न उठ्न सक्ने देखिएको छ।

यता निर्वाचन आयोग भने केन्द्रीय सदस्यको मतदान सम्पन्न भएपछि मात्रै पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गर्ने तयारीमा रहेको बताइएको छ।

महाधिवेशन व्यवस्थापनमा भएको ढिलाइका कारण प्रतिनिधिहरू फर्किन थालेपछि पार्टी नेतृत्वमाथि निर्वाचन प्रक्रिया छिटो टुंग्याउन दबाब बढेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *