`

साउन १ मा आउँदै ‘गौँथली’, अरुण–सिम्रनको नयाँ जोडीप्रति दर्शकको चासो

Nepal One HD ११ असार २०८३ ११:१३
चलचित्र

काठमाडौं। नेपाली चलचित्र क्षेत्रमा साउन १ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘गौँथली’ अहिले दर्शकमाझ चर्चाको विषय बनेको छ।

पारिवारिक कथा, भावनात्मक सम्बन्ध र जीवनका संवेदनशील पाटोलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रले प्रदर्शनअघि नै सकारात्मक प्रतिक्रिया बटुल्न थालेको हो।  विशेषगरी चलचित्रमा पहिलोपटक अनस्क्रिन जोडी बनेका अरुण क्षेत्री र सिम्रन खड्काको प्रस्तुतिप्रति दर्शकको चासो बढ्दो छ।

निर्देशक डा. कपिल रिजालले चलचित्रमा अरुण र सिम्रनलाई श्रीमान्-श्रीमतीको भूमिकामा प्रस्तुत गरेका छन्। नेपाली चलचित्र क्षेत्रमा स्थापित कलाकारका रूपमा परिचित दुवैले यसअघि छुट्टाछुट्टै चलचित्रमार्फत दर्शकको मन जितिसकेका छन्। अब उनीहरू पहिलोपटक एउटै कथामा मुख्य जोडीका रूपमा देखिन लागेका हुन्।

अरुण क्षेत्रीले ‘महापुरुष’ लगायतका चलचित्रबाट आफ्नो अभिनय क्षमता प्रमाणित गरिसकेका छन्। यता सिम्रन खड्काले ‘प्रेमगञ्ज’, ‘चित्रा’ र ‘बेहुली फ्रम मेघौली’ जस्ता चलचित्रमार्फत आफूलाई सक्षम अभिनेत्रीका रूपमा स्थापित गरेकी छन्। यही कारणले पनि ‘गौँथली’मा उनीहरूको जोडीलाई दर्शकले कसरी ग्रहण गर्लान् भन्ने उत्सुकता निर्माण पक्षमा पनि देखिन्छ।

चलचित्रको प्रचार अभियानअन्तर्गत केही दिनअघि सार्वजनिक गरिएको ‘आँखा भरी आँसु’ बोलको गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ। थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको उक्त गीतमा संगीत पनि स्वयं थानेश्वर गौतमकै रहेको छ। गीतका शब्द डा. भोला रिजालले लेखेका हुन्। भावुक शैलीमा तयार पारिएको गीतले चलचित्रको कथावस्तुप्रति दर्शकमा थप जिज्ञासा उत्पन्न गरेको छ।

गीत सार्वजनिक गर्ने शैली पनि फरक थियो। सार्वजनिक कार्यक्रममा अरुण क्षेत्री र सिम्रन खड्का बेहुला–बेहुलीको पहिरनमा उपस्थित भएका थिए। उनीहरूको उक्त प्रस्तुति कार्यक्रममा सहभागी अतिथि र सञ्चारकर्मीका लागि अप्रत्याशित आकर्षण बनेको थियो।

गीतअघि सार्वजनिक गरिएको चलचित्रको टिजरले पनि राम्रो प्रतिक्रिया प्राप्त गरेको निर्माण पक्षको दाबी छ। टिजरमा देखाइएको कथावस्तु, पात्रहरूको मनोवैज्ञानिक द्वन्द्व तथा पारिवारिक सम्बन्धका आयामले दर्शकको ध्यान खिचेको छ।

निर्देशक डा. कपिल रिजालका अनुसार चलचित्रले शारीरिक तथा मानसिक समस्याले व्यक्तिको जीवन, सम्बन्ध र परिवारमा पार्ने प्रभावलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ। उनले दर्शकबाट प्राप्त प्रतिक्रियाले आफूहरू उत्साहित भएको बताए।

चलचित्रको शीर्षक ‘गौँथली’ आफैंमा प्रतीकात्मक अर्थ बोकेको निर्माण पक्षको भनाइ छ। गौँथली चराले आफ्नै गुँड निर्माण गरी परिवार बसाल्ने स्वभावलाई चलचित्रको मूल भावसँग जोडिएको बताइएको छ। त्यसैले चलचित्रले घर, परिवार, सम्बन्ध, माया र आत्मीयताको कथा भन्ने अपेक्षा गरिएको छ।

चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्कासँगै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना तथा राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले पनि अभिनय गरेका छन्।

चलचित्रको कथा डा. भोला रिजालले तयार पारेका हुन्। पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण गरिएको चलचित्रमा सरला रिजाल कार्यकारी निर्माताको रूपमा रहेकी छन्। निर्माता सुमन गिरी र डा. कपिल रिजाल हुन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सहनिर्माताको रूपमा आबद्ध छन्।

प्राविधिक पक्षमा पनि चलचित्रलाई बलियो बनाउने प्रयास गरिएको छ। चलचित्रमा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको छ भने पाश्र्व संगीत एलिस कार्कीले तयार पारेका छन्। हरि हुमागाईंले छायांकन गरेको चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन्।

मुख्य सहायक निर्देशक गिरिराज घिमिरे रहेको चलचित्रमा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशकका रूपमा रहेका छन्। ध्वनि मिश्रण मुकेश शाह, रंग संयोजन राजेन्द्र मोक्तान तथा कोरियोग्राफी रामजी लामिछाने र मौसम हिमालीले गरेका छन्।

चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले देशभर वितरण गर्नेछन् भने डिजिटल साझेदारका रूपमा ओएसआर डिजिटल रहेको छ।

रोचक पक्ष के छ भने ‘गौँथली’ शीर्षक नेपाली चलचित्र क्षेत्रमा नयाँ होइन। करिब दुई दशकअघि डा. भोला रिजालले यही नाममा चलचित्र निर्माण गरेका थिए, जसलाई नेपालको पहिलो ‘गीति चलचित्र’का रूपमा समेत चिनिन्छ। उक्त चलचित्रले प्रदर्शनको ५१ दिन पूरा गर्दै उल्लेखनीय सफलता हासिल गरेको थियो।

यसपटक भने सोही नामलाई नयाँ पुस्ताले पुनः जीवित बनाउने प्रयास गरेको छ। पुरानो ‘गौँथली’का निर्माता डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले आधुनिक समयको कथासँग जोडेर नयाँ ‘गौँथली’ निर्माण गरेका हुन्।

प्रदर्शन मिति नजिकिँदै जाँदा चलचित्रप्रति दर्शकको अपेक्षा पनि बढ्दै गएको छ।

पारिवारिक कथा, अनुभवी कलाकारहरूको अभिनय र नयाँ पुस्ताको प्रस्तुति समेटिएको ‘गौँथली’ साउन १ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *