`

‘मीम्स र रिल्सको युगमा दर्शकलाई हँसाउनु झन् कठिन छ’ : अक्षय कुमार

Nepal One HD ११ असार २०८३ १५:४३
चलचित्र

एजेन्सी। बलिउड अभिनेता अक्षय कुमार अभिनीत चलचित्र ‘वेलकम टु द जंगल’ यही शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आउँदैछ। ‘वेलकम’ फ्रान्चाइजीको तेस्रो सिक्वेलका रूपमा आएको यो चलचित्र हास्यप्रधान विधामा आधारित छ।

हास्य चलचित्रमार्फत दर्शकमाझ विशेष पहिचान बनाएका अक्षय कुमारले अहिलेको डिजिटल युगमा मानिसहरूलाई हँसाउनु पहिलेभन्दा निकै चुनौतीपूर्ण बनेको बताएका छन्। उनका अनुसार सामाजिक सञ्जाल, मीम्स, इन्स्टाग्राम रिल्स र स्ट्यान्ड-अप कमेडीको व्यापक प्रभावका कारण दर्शकको मनोरञ्जनको शैली बदलिएको छ।

समाचार संस्था पीटीआईसँगको कुराकानीमा अक्षयले भने, ‘आजकल कमेडी झन् गाह्रो हुँदै गएको छ। यदि तपाईंले इन्स्टाग्राम खोल्नुभयो भने अनगिन्ती मीम्स र रमाइला भिडियोहरू देख्न सक्नुहुन्छ। मानिसहरूले हरेक दिन स्ट्यान्ड–अप कमेडियनहरूको प्रस्तुति हेर्छन्, जहाँ नयाँ–नयाँ सामग्री निरन्तर सिर्जना भइरहेको हुन्छ।’

उनका अनुसार अहिले दर्शकलाई मनोरञ्जनका धेरै विकल्प उपलब्ध छन्। यही कारण केवल हलुका हास्यका भरमा चलचित्र सफल बनाउनु सहज छैन। दर्शकहरूलाई सिनेमा हलसम्म तान्न थप सशक्त सामग्री आवश्यक पर्ने उनको भनाइ छ।

अक्षयले कमेडीलाई नदीसँग तुलना गर्दै राम्रो सिर्जनात्मक स्रोत रहँदासम्म हास्य कहिल्यै समाप्त नहुने बताए। उनका अनुसार कमेडीका विभिन्न स्वरूप हुन्छन्, जसमा भौतिक कमेडी, परिस्थितिजन्य कमेडी, स्ल्यापस्टिक कमेडी र डार्क ह्युमर प्रमुख छन्।

दर्शकले कमेडीलाई सामान्य रूपमा लिने गरे पनि वास्तवमा मानिसलाई हँसाउनु सबैभन्दा कठिन काममध्ये एक भएको उनको भनाइ छ। उनले स्ट्यान्ड–अप कमेडियनहरूप्रति सम्मान व्यक्त गर्दै दर्शकको अगाडि एक्लै उभिएर निरन्तर हँसाउनु ठूलो चुनौती भएको बताए।

यद्यपि चुनौती बढे पनि आफूले हास्य विधालाई निरन्तरता दिइरहेको अक्षयले बताएका छन्। उनका अनुसार नयाँ चलचित्र ‘वेलकम टु द जंगल’ मा भौतिक, परिस्थितिजन्य र स्ल्यापस्टिक गरी तीनवटै प्रकारका हास्य शैली समावेश गरिएको छ।

चलचित्रमा अक्षय कुमारसँगै सुनिल शेट्टी, परेश रावल, रवीना टन्डन, अर्शद वारसी, लारा दत्ता, दिशा पटानी, ज्याकलिन फर्नान्डेज, आफताब शिवदासानी, तुषार कपूर, राजपाल यादव र ज्याकी श्राफ लगायत ३० भन्दा बढी कलाकारहरूको अभिनय रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *