`

५१औँ दिन मनाउँदै गर्दा ‘लालीबजार’ले कति कमायो ?

Nepal One HD १२ असार २०८३ १३:१३
चलचित्र

काठमाडौं। गत वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ले आगामी शनिबार प्रदर्शनको ५१औँ दिन पूरा गर्ने भएको छ।

यस वर्ष रिलिज भएका नेपाली चलचित्रमध्ये व्यावसायिक रूपमा उल्लेखनीय सफलता हासिल गरेको फिल्मले घरेलु बक्स अफिसमा ९ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरिसकेको छ भने यसको आम्दानी १० करोड रुपैयाँको आँकातर्फ उन्मुख रहेको छ।

५१ दिनको सफल प्रदर्शनको अवसर पारेर फिल्मका कलाकार तथा निर्माण टोलीले विभिन्न चलचित्र हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय गरेका छन्। निर्माण कम्पनी षट्कोण आट्र्सका अनुसार प्रदर्शनरत हलहरूमा पुगेर दर्शकलाई धन्यवाद ज्ञापन गरिनेछ।

फिल्मका निर्माता तथा अभिनेता रविन्द्रसिंह बानियाँले दर्शकको निरन्तर साथ नै फिल्मको सफलताको मुख्य आधार रहेको बताए। उनले डिजिटल माध्यमको प्रभाव बढिरहेका बेला पनि कुनै नेपाली फिल्मले ५१ दिनसम्म निरन्तर दर्शकको साथ पाउनु ठूलो उपलब्धि भएको उल्लेख गर्दै त्यसको खुसी दर्शकसँग साट्न विभिन्न हलमा पुग्ने तयारी गरिएको जानकारी दिए।

यम थापाको निर्देशनमा बनेको ‘लालीबजार’ षट्कोण आट्र्सको ब्यानरमा निर्माण भएको हो। यसअघि यही ब्यानरबाट ‘टल्कजंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’जस्ता सफल चलचित्र निर्माण भइसकेका छन्।

फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, वीरबल चौधरी र कुन्टललगायत कलाकारको अभिनय रहेको छ।

यसै चलचित्रमार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले नेपाली फिल्म क्षेत्रमा अभिनय यात्रा सुरु गरेका हुन्।

विशाल रंगमञ्चमा सक्रिय कलाकारका रूपमा परिचित छन् भने प्रशंसा जेनजी पुस्ताकी नयाँ अभिनेत्रीका रूपमा उदाएकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *