अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती
बागलुङ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बिहुँ-घोडाबाँधे खण्ड कालोपत्र नहुँदा यात्रु र स्थानीयलाई आवागमनमा सास्ती हुने गरेको छ ।
सडक कालोपत्रका लागि ११ वर्ष अगाडि ठेक्का सम्झौता भए पनि अहिलेसम्म काम नहुँदा बर्खामा हिलो र हिउँदमा धुलोका कारण स्थानीयलाई आवागमनमा समस्या हुँदै आएको हो ।
बाह्र किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रका लागि २०७२ साल माघ १० गते एमपी/एससिएफ/इसिसी जेभीले दुई वर्षमा काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गनका थियो । नौ वर्ष बितिसक्दा पनि काम पूरा नगरेपछि लोकमार्ग आयोजना कार्यालयले ठेक्का तोडेर २०८१ साल असार २१ गते दुई वर्षभित्र आयोजना पूरा गर्नेगरी नयाँ ठेक्का लगाएको थियो ।
पुनः ठेक्का लगाइएको सम्झौताको म्याद सकिनै लाग्दा पनि कामले गति लिनसकेको छैन । तामाङ/रजिल/भगवती जेभीले जिम्मा पाएको उक्त खण्डको काम हालसम्म ५२ प्रतिशतमात्रै सकिएको छ ।
मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख अनुक्षा घिमिरेले यस खण्डमा फराकिलो, नाली निर्माण, ग्याबियन पर्खाल लगाउनेलगायत काम सकिएको बताए । उनका अनुसार अब कालोपत्र गर्नमात्रै बाँकी छ । निर्माण सामग्रीको अभाव र मूल्यवृद्धिका कारण समयमा काम नसकिने अवस्था देखिएको उनले बताए ।
प्रमुख घिमिरेले भन, “यसपालि यो खण्डको काम सकिन्छ भन्ने लागेको थियो, तर विभिन्न कारणले गर्दा अझै सकिने अवस्था रहेन । निर्माण सामग्रीको अभाव, मूल्यवृद्धिलगायत कारणले असार मसान्तसम्म काम सकिने सम्भावना छैन, तर संरचनात्मक (स्ट्रक्चर)को काम करिब सबै सकिएको छ, पहिलेको तुलनामा धेरै काम भएको छ ।”
यस खण्डको केही सडक अघिल्लो निर्माण कम्पनीले कालोपत्र गरेको थियो । उक्त कालोपत्र उप्किएर अहिले सडक थप जोखिमयुक्त बनेको स्थानीय कुलराज कँडेलले बताए । लोकमार्गअन्तर्गत बागलुङको विकट क्षेत्रमा कालोपत्र भइसक्दा बिहुँ खण्ड भने ठेकेदारको लापरबाहीले अहिलेसम्म हिलाम्मे र धुलाम्मे रहेको उनको भनाइ छ ।
निर्माण कम्पनीले चासो दिएर काम नगर्दा हजारौँ यात्रु र स्थानीयले समस्या भोग्नुपरेको कँडेलले गुनासो ग । “यो सडकमा दैनिक सयौँ गाडीमा हजारौँ यात्रुले यात्रा गर्छन्, हिलो र धुलोले गर्दा सबैले समस्या भोग्नुपरेको छ”, उनले भन, “साथै लोकमार्ग आसपासका स्थानीयलाई धुलो र धुवाँले थप सास्ती भएको छ । हिउँदभरि धुलो उडेर बारीभरि भएका फलफूल र सब्जीलाई ढाक्छ, बर्खामा हिलोले सबै पुरिन्छ, यो समस्याले गर्दा गाउँमा बस्न सकिने अवस्था छैन ।”
