‘लज्जावती’का पाँच क्यारेक्टर पोस्टर सार्वजनिक
काठमाडौं । आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘लज्जावती’ का विभिन्न क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार एकैपटक पाँचवटा पोस्टर सार्वजनिक गर्दै सिनेमाका प्रमुख पात्रहरूको परिचयसँगै कथावस्तुको झलक प्रस्तुत गरेको हो।
सार्वजनिक पोस्टरहरूमा मुख्य कलाकारहरू फरक–फरक अवतारमा देखिएका छन्। पोस्टरमार्फत पात्रहरूको सम्बन्ध, प्रेम, संघर्ष र ग्रामीण जीवनशैलीलाई चित्रण गर्ने प्रयास गरिएको निर्माण टिमले जनाएको छ।
एक पोस्टरमा अभिनेता मुकुन भुसाल र अभिनेत्री जानुका विश्वकर्मा रोमान्टिक मुद्रामा देखिएका छन्। उक्त पोस्टरले सिनेमामा प्रेमकथाले महत्वपूर्ण स्थान ओगटेको संकेत गर्छ।
अर्को पोस्टरमा मुकुन भुसालको काँधमा श्रीकृष्ण निरौला रमाइलो शैलीमा चढेको दृश्य प्रस्तुत गरिएको छ। सो पोस्टरमा जानुका विश्वकर्मा र मेनुका माझी पनि देखिएका छन्। यसले पारिवारिक सम्बन्ध, हास्य र भावनात्मक पक्षलाई एकसाथ समेटिएको अनुमान गर्न सकिन्छ।
त्यसैगरी अर्को क्यारेक्टर पोस्टरमा मुकुन भुसाल, श्रीकृष्ण निरौला र मेनुका माझी गम्भीर भावमा प्रस्तुत भएका छन्। पोस्टरको पृष्ठभूमिमा ग्रामीण र सहरी परिवेश दुवैलाई समेटिएको देखिएकाले सिनेमाको कथा विभिन्न सामाजिक परिवेशमा आधारित रहेको संकेत मिल्छ।
निर्माण टिमका अनुसार सार्वजनिक गरिएका सबै पोस्टरले प्रेम, परिवार, सामाजिक सम्बन्ध र जीवनका विविध आयामलाई केन्द्रमा राखेर तयार गरिएको कथावस्तुको झलक दिन्छन्। सिनेमाले मनोरञ्जनसँगै समाजका विभिन्न पक्षलाई पनि प्रस्तुत गर्ने प्रयास गरेको बताइएको छ।
आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको ‘लज्जावती’ का लेखक तथा निर्देशक राजबहादुर साने हुन्। सिनेमामा मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, धिरेन शाक्य, हिउँवाला गौतम, दीपक थापा, विनोद श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ।
सौरभ वली प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया हुन् भने दिनेश बुढाथोकी कार्यकारी निर्माता छन्। दिव्यराज सुवेदीको छायांकन रहेको सिनेमाको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् भने द्वन्द्व निर्देशन देव महर्जनले सम्हालेका छन्। सिनेमालाई कुबेर सिने डिस्ट्रिब्युसनले देशभर प्रदर्शनमा ल्याउनेछ।
