‘लालीबजार’को दबदबा : ‘रोल न.१’ र ‘आइ एम जीतबहादुर’ले कति कमाए?
काठमाडौं। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको साप्ताहिक बक्स अफिस प्रतिवेदनअनुसार प्रदर्शनरत नेपाली चलचित्रमध्ये ‘लालीबजार’ ले सबैभन्दा बढी व्यापार गर्दै अग्रस्थान कायम राखेको छ।
बोर्डले असार १४ गतेसम्मको तथ्याङ्क सार्वजनिक गर्दै हाल प्रदर्शनमा रहेका ‘लालीबजार’, ‘रोल न.१’ र ‘आइ एम जीतबहादुर’ को व्यापार तथा दर्शक सङ्ख्या सार्वजनिक गरेको हो।
वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आएको ‘लालीबजार’ ले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेको छ। यम थापाको लेखन तथा निर्देशनमा निर्माण भएको यस चलचित्रले हालसम्म ९ करोड ३१ लाख ७७ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको बोर्डको तथ्याङ्कमा उल्लेख छ। चलचित्र हेर्ने दर्शकको सङ्ख्या ३ लाख १६ हजार ९३० पुगेको छ, जसले यसलाई हाल प्रदर्शनरत नेपाली चलचित्रमध्ये सबैभन्दा सफल बनाएको देखिन्छ।
यस्तै, जेठ १५ गतेबाट प्रदर्शनमा आएको निर्देशक जोन योञ्जनको ‘रोल न.१’ ले पनि सन्तोषजनक व्यापार गरिरहेको छ। चलचित्रले हालसम्म १ करोड ६८ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ भने ६५ हजार ३०५ दर्शकले चलचित्र हेरेका छन्।
असार ५ गतेदेखि प्रदर्शनमा आएको ‘आइ एम जीतबहादुर’ ले प्रदर्शनको पहिलो सातामै ३१ लाख ७ हजार रुपैयाँ व्यापार गर्न सफल भएको छ। चलचित्रलाई हालसम्म ९ हजार ६२६ दर्शकले हेरेका छन्।
चलचित्र विकास बोर्डको पछिल्लो बक्स अफिस विवरणले नेपाली चलचित्र बजारमा ‘लालीबजार’ को प्रभाव अझै कायम रहेको देखाएको छ। अर्कोतर्फ, ‘रोल न.१’ ले डेढ करोडभन्दा बढी व्यापार गर्दै आफ्नो उपस्थितिलाई बलियो बनाएको छ भने नयाँ चलचित्र ‘आइ एम जीतबहादुर’ ले प्रारम्भिक प्रदर्शनमै उत्साहजनक आम्दानी गर्दै आगामी साताहरूमा थप दर्शक तान्ने अपेक्षा गरिएको छ।
बोर्डले नियमित रूपमा सार्वजनिक गर्ने बक्स अफिस तथ्याङ्कले चलचित्रको व्यापारिक अवस्था, दर्शकको आकर्षण तथा नेपाली चलचित्र उद्योगको बजार प्रवृत्तिबारे स्पष्ट संकेत दिने गरेको छ।
