`

मनसुनजन्य विपद्कालागि ‘हाई अलर्ट’मा सेना,२४ घण्टा उद्धार तयारीमा युनिटहरू

Nepal One HD १९ असार २०८३ १५:०५
जीवनशैली/स्वास्थ्य

काठमाडौं। नेपाली सेनाको पूर्वी पृतना र कोशी प्रदेशका १४ जिल्लामा तैनाथ सेनाका युनिटले छैटौँ संस्करणको ‘अभ्यास मनसुन’ सम्पन्न गरेका छन्।

मनसुनजन्य विपद् व्यवस्थापनका लागि उच्च सतर्कता, समन्वय र उद्धार क्षमताको अभ्यास गर्दै यो कार्यक्रम सम्पन्न गरिएको सेनाले जनाएको छ।

पूर्वपृतनापति तथा नेपाली सेनाका उपरथी गौरवकुमार केसीका अनुसार बाढी, पहिरो, डुबान, आगलागी, सवारी दुर्घटना तथा अन्य सम्भावित विपद्लाई लक्षित गर्दै सबै सुरक्षा निकायसँग समन्वय गरी तयारीलाई थप प्रभावकारी बनाइएको हो।

मनसुनजन्य जोखिमलाई मध्यनजर गर्दै काठमाडौंस्थित श्री नं. १ विपद् व्यवस्थापन गणबाट दक्ष जनशक्ति र आवश्यक उद्धार सामग्रीसहितको टोली इटहरीस्थित पूर्वी पृतनामा तयारी अवस्थामा राखिएको छ।

सेनाका अनुसार कोशी प्रदेशका सबै जिल्लामा उद्धार टोलीलाई २४ सैँ घण्टा तयारी अवस्थामा राखिएको छ। उद्धारका लागि डुङ्गा, लाइफ ज्याकेट, डोरी, स्ट्रेचर, कटर, सञ्चार उपकरणलगायत आवश्यक सामग्री व्यवस्थापन गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार सबै तहमा मनसुन प्रतिकार्य कमाण्ड पोष्ट स्थापना गरिएको छ। प्रदेश, जिल्ला र स्थानीय तहका विपद् व्यवस्थापन समितिसँग सूचना आदान–प्रदान र समन्वयलाई सुदृढ बनाइएको सेनाले जनाएको छ।

मौसम पूर्वानुमान तथा बाढी–पहिरोसम्बन्धी पूर्वसूचनाको निरन्तर अनुगमन गर्दै आवश्यक परे तत्काल उद्धार तथा राहत परिचालन गर्ने तयारी गरिएको छ।

प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण तथा सुरक्षित स्थानान्तरणका लागि इटहरीस्थित पृतना मुख्यालयमा हेलिकप्टर ‘स्ट्यान्डबाइ’ राखिएको छ।

त्यसैगरी, ठूलो दुर्घटना वा विपद् अवस्थामा घाइतेहरूको उपचारका लागि इटहरीस्थित सैनिक अस्पतालबाट छिटो र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने पूर्वाभ्याससमेत गरिएको छ।

नेपाली सेनाले नागरिकलाई आधिकारिक सूचनामा मात्र विश्वास गर्न, जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा आपत्कालीन अवस्थामा नजिकको सुरक्षा निकायमा सम्पर्क गर्न आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *