`

‘बालेनका समर्थकले जे गरेपनि हुने हो?’[भिडियाे]

Nepal One HD २४ असार २०८३ १३:२२
बिशेष

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहका समर्थकलाई लक्षित गर्दै कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा एक युट्युबर पक्राउ परेको प्रसंग उल्लेख गर्दै प्रश्न गरे, ‘बालेनका समर्थकले जे गरे पनि, जे बोले पनि हुने हो?’ उनले कानुनको कार्यान्वयनमा दोहोरो मापदण्ड हुन नहुने धारणा राखे।

साम्पाङले माइतीघर मण्डलामा आन्दोलनरत दृष्टिविहीन नागरिकहरूको विषय पनि उठाएका थिए। उनले सरकारले उनीहरूको समस्याप्रति संवेदनशील हुनुपर्ने भन्दै आफूलाई अनुकूल र अरूलाई बेवास्ता गर्ने प्रवृत्ति त्याग्न आग्रह गरे।

उनले दृष्टिविहीन नागरिकलाई केवल आन्दोलन गर्न बाध्य बनाउने अवस्था अन्त्य गर्न सरकारलाई आग्रह गर्दै उनीहरूको जीविकोपार्जनको व्यवस्था गर्नुपर्ने बताए। एकैपटक सबैलाई रोजगारी दिन नसके पनि प्रत्येक महिनादेखि १० देखि १५ जनासम्मलाई क्रमिक रूपमा रोजगारी उपलब्ध गराउने कार्यक्रम सुरु गर्नुपर्ने उनको सुझाव थियो।

यस्तै, संसदमा अर्को प्रसंग उठाउँदै साम्पाङले प्रधानमन्त्रीले संसदमा दिएको विवादास्पद अभिव्यक्तिलाई संसदमै आएर सच्याउनुपर्ने माग दोहोर्याए। उनले यस विषयमा सभामुखले स्पष्ट रुलिङ गर्नुपर्ने आवश्यकता औंल्याए।

साम्पाङले लोकतन्त्रमा सबै व्यक्ति र निकायले समान रूपमा कानुनको पालना गर्नुपर्ने बताउँदै कुनै एक पक्षले नियम नमान्ने र अर्को पक्षले पनि त्यसैको सिको गर्ने अवस्था सिर्जना भए लोकतान्त्रिक व्यवस्था कमजोर हुने चेतावनी दिए। उनले यस्तो प्रवृत्तिले मुलुक अराजकतर्फ धकेलिने र संसद पनि क्रमशः त्यही दिशातर्फ उन्मुख भइरहेको टिप्पणी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *