जलजलामा १४९ सुत्केरीलाई घ्यू र अण्डा
पर्वत। जलजला गाउँपालिका ले चालु आर्थिक वर्षमा ‘उपाध्यक्ष सुत्केरी पोषण कार्यक्रम’ अन्तर्गत १४९ जना सुत्केरी महिलालाई घ्यू र अण्डा वितरण गरेको छ।
कार्यक्रम अन्तर्गत मल्लाज, लेकफाँट र शालिजाका स्वास्थ्य संस्थामा संस्थागत रूपमा सुत्केरी भएका महिलालाई पोषण सामग्री उपलब्ध गराइएको हो।
पालिकाले लक्षित वर्ग शीर्षकमा विनियोजन गरिएको बजेटबाट उक्त कार्यक्रम सञ्चालन गरेको जनाएको छ। घरमै सुत्केरी गराउने परम्परालाई निरुत्साहित गर्दै संस्थागत प्रसूति बढाउने, साथै आमा र नवजात शिशुको पोषण अवस्था सुधार गर्ने उद्देश्यले कार्यक्रम लागू गरिएको हो।
गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य का अनुसार २०८२ साउनदेखि असार मसान्तको तेस्रो सातासम्म स्वास्थ्य संस्थामा सुत्केरी भएका नौ वटै वडाका १४९ महिलालाई दुई क्यारेट अण्डा र एक माना घ्यू वितरण गरिएको छ।
उनले भने, ‘पालिकाभित्रकै किसानले उत्पादन गरेको अण्डा र घ्यू खरिद गरेर वितरण गरेका हौँ। यसले एकातिर सुत्केरी महिलाको पोषणमा सहयोग पुगेको छ भने अर्कोतिर स्थानीय किसानको उत्पादनलाई पनि बजार उपलब्ध भएको छ।’
महिला तथा बालबालिका शाखाका प्रमुख विन्दु शर्मा ले पोषण सामग्री वितरणसँगै स्वास्थ्यकर्मीमार्फत सुत्केरी महिला र परिवारलाई पौष्टिक आहार, शिशु पोषण तथा स्वस्थ खानपानसम्बन्धी परामर्शसमेत प्रदान गरिँदै आएको जानकारी दिए।
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य ले २०८१ साउनदेखि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा रहेको उल्लेख गर्दै मातृ तथा शिशु स्वास्थ्यलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताए।
उपाध्यक्ष आचार्यका अनुसार ‘उपाध्यक्ष सुत्केरी पोषण कार्यक्रम’ को मुख्य उद्देश्य महिलालाई स्वास्थ्यप्रति सचेत बनाउनु, संस्थागत प्रसूतिलाई प्रोत्साहन गर्नु तथा आमा र दुई वर्षसम्मका बालबालिकाको पोषण अवस्थालाई सुधार गर्नु हो।
