`

बालेन संसारकै नालायक प्रधानमन्त्री : हर्क साम्पाङ

Nepal One HD २५ असार २०८३ ७:१४
बिशेष

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित भएर आफ्ना विवादित अभिव्यक्तिबारे जवाफ दिन नचाहेको भन्दै उनलाई ‘संसारकै नालायक प्रधानमन्त्री’ को संज्ञा दिएका छन्।

साम्पाङले प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा उपस्थित भएर जनताका प्रश्नको सामना गर्नुपर्ने संवैधानिक र नैतिक दायित्व पूरा नगरेको आरोप लगाए।

‘संसारकै नालायक प्रधानमन्त्री हाम्रो, जो सदनमा आएर जनताको प्रश्नको सामना गर्न सक्दैन। जनताले सोध्न चाहेका प्रश्नको उत्तर दिन वाञ्छनीय ठान्दैन। आफूलाई सार्वभौम संसदभन्दा ठूलो सम्झन्छ,’ साम्पाङले बिहीबार लेखेका छन्।

प्रधानमन्त्रीको आलोचना गर्दा आफूलाई विरोधीको रूपमा चित्रित गर्ने प्रवृत्तिप्रति पनि उनले असन्तुष्टि जनाएका छन्। प्रधानमन्त्रीले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेकाले खबरदारी गरेको उनको भनाइ छ।

‘बालेनको विरोध गर्छ भन्नेहरूले बुझ्नुपर्ने के हो भने बालेनले आफ्नो जिम्मेवारी पूरा गर्न सकेको छैन। त्यसैले हो खबरदारी र विरोध मेरो,’ उनले उल्लेख गरेका छन्।

साम्पाङले लोकतन्त्रमा कार्यकारी प्रमुख संसदप्रति जवाफदेही हुनुपर्ने उल्लेख गर्दै नेपालमा भने त्यसको विपरीत अभ्यास भइरहेको टिप्पणी गरेका छन्।

‘लोकतन्त्र नै जनताको शासन हो। विधि नमान्ने हो भने लोकतन्त्र रहँदैन। विधि मान्ने पहिलो जिम्मेवारी प्रधानमन्त्रीकै हो,’ उनले भनेका छन्।

प्रधानमन्त्री शाहले नेपाल-भारत सीमा सम्बन्धमा दिएको विवादास्पद अभिव्यक्तिबारे संसदमा आएर स्पष्ट पार्नुपर्ने माग विपक्षी दलहरूले गर्दै आएका बेला साम्पाङको यस्तो टिप्पणी आएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *