राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका नेपालीको अवस्था गम्भीर
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था अझै गम्भीर रहेको वीर अस्पतालले जनाएको छ।
शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै अस्पतालका चिकित्सकहरूले गणेश नेपालीको उपचार निरन्तर जारी रहे पनि अवस्था स्थिर नभएको र अझै केही भन्न सकिने अवस्थामा नरहेको जानकारी दिएका हुन्।
अस्पतालका अनुसार उनको शरीरमा गम्भीर रूपमा आगोले क्षति पुर्याएकाले चिकित्सकहरूको निगरानीमा सघन उपचार भइरहेको छ। स्वास्थ्य अवस्था अत्यन्त संवेदनशील रहेकाले कुनै पनि बेला जटिलता आउन सक्ने चिकित्सकहरूको भनाइ छ।
पत्रकार सम्मेलनमा चिकित्सकहरूले भने, ‘उहाँको अवस्था अझै पनि केही भन्न सक्ने अवस्थामा छैन। कुनै पनि समयमा उहाँको अवस्था बिग्रन सक्छ।’
बिहीबार दिउँसो राहदानी विभागको ३ नम्बर गेट अगाडि गणेश नेपालीले आफूले चढेर आएको मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएपछि आगो लगाएका थिए। घटनास्थलमा रहेका प्रहरी र स्थानीयले तत्काल आगो निभाएर उनलाई उद्धार गरेका थिए। त्यसपछि काठमाडौं महानगरपालिकाको सवारीमार्फत उपचारका लागि वीर अस्पताल ल्याइएको थियो।
घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ भने अस्पतालले बिरामीको अवस्थालाई ध्यानमा राख्दै आवश्यक सबै उपचार भइरहेको जनाएको छ।
तस्वीरहरू:





