`

कङ्गोमा इबोला आतंक : मृत्यु हुनेको सङ्ख्या ६४८ पुग्यो

Nepal One HD २७ असार २०८३ १४:००
जीवनशैली/स्वास्थ्य

काठमाडौं । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला भाइरसको प्रकोप थप गम्भीर बन्दै गएको छ। स्वास्थ्य अधिकारीहरूले शनिबार सार्वजनिक गरेको विवरणअनुसार इबोलाका कारण मृत्यु हुनेको सङ्ख्या ६४८ पुगेको छ भने हालसम्म १ हजार ८३० जनामा संक्रमण पुष्टि भएको छ।

अधिकारीहरूका अनुसार पछिल्लो विवरणमा विगत २४ घण्टामा थपिएका संक्रमित र मृत्युका घटनासमेत समेटिएका छन्। संक्रमणको विस्तारसँगै प्रभावित क्षेत्रको दायरा पनि बढ्दै गएको जनाइएको छ।

कङ्गोका स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले जारी गरेको विज्ञप्तिमा देशको उत्तर र उत्तरपूर्वी क्षेत्रमा रहेका थप क्षेत्रलाई इबोला प्रभावित क्षेत्रको सूचीमा समावेश गरिएको उल्लेख गरिएको छ। सोपो र हाट–युले क्षेत्रलाई समेत उच्च जोखिमयुक्त क्षेत्रमा राखिएको बताइएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसअघि नै कङ्गोमा फैलिएको इबोला प्रकोपको वास्तविक अवस्था सार्वजनिक तथ्याङ्कभन्दा अझै ठूलो हुन सक्ने चेतावनी दिएको थियो। डब्लुएचओका अनुसार आधिकारिक रूपमा पुष्टि भएका घटनाभन्दा वास्तविक संक्रमणको संख्या दुईदेखि चार गुणासम्म बढी हुन सक्ने सम्भावना छ।

इबोला अत्यन्त संक्रामक भाइरसजन्य रोग हो। यसको नियन्त्रणका लागि संक्रमितको पहिचान, उपचार, सम्पर्कमा आएका व्यक्तिको निगरानी तथा स्वास्थ्य सुरक्षा उपायलाई प्रभावकारी बनाउनु आवश्यक मानिन्छ। कङ्गोले संक्रमण नियन्त्रणका लागि स्वास्थ्य टोली परिचालन तथा निगरानीलाई तीव्र बनाएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *