`

‘भटभटे माइला’ हिरो बन्दै

Nepal One HD २८ असार २०८३ ११:१६
चलचित्र

काठमाडौं । टेलिभिजन र डिजिटल प्लेटफर्ममार्फत ‘भटभटे माइला’ पात्रका रूपमा घरघरमा परिचित कमेडियन बेगम नेपाली अब पहिलो पटक नेपाली चलचित्रमा मुख्य नायकका रूपमा देखिने भएका छन्। उनी रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मा प्रमुख भूमिकाका लागि अनुबन्धित भएका हुन्।

वर्षौंदेखि टेलिभिजन, डिजिटल माध्यम र विभिन्न मञ्चमार्फत आफ्नो विशिष्ट हास्य अभिनयले दर्शकको मन जित्दै आएका बेगम नेपालीका लागि यो चलचित्र अभिनय यात्राको नयाँ मोड बन्नेछ। सानो पर्दामा ‘भटभटे माइला’ को चरित्रबाट अपार लोकप्रियता कमाएका उनी पहिलो पटक ठूलो पर्दामा नायकका रूपमा देखिन लागेकाले चलचित्रप्रति दर्शकमाझ पनि उत्सुकता बढेको छ।

अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बन्ने यस चलचित्रको छायाङ्कन यही सातादेखि सुरु गर्ने तयारी गरिएको छ। चलचित्रका निर्माता रघुनाथ सापकोटा हुन्।

निर्माता सापकोटाका अनुसार चलचित्रमा नेपाली मनोरञ्जन क्षेत्रका चर्चित कलाकारहरूको सशक्त अभिनय रहनेछ। चलचित्रका गीत चर्चित गायक पशुपति शर्माले तयार गर्नेछन् भने छायाङ्कनको जिम्मेवारी सिनेमाटोग्राफर संकल भुजेलले सम्हाल्नेछन्।

यसअघि नै चलचित्रका लागि चर्चित गायक पशुपति शर्मा, गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त, कलाकार समिया कार्की तथा लोकप्रिय कमेडियन प्रभात लामा मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्। कलाकारहरूको यो संयोजनले चलचित्रप्रति थप चासो बढाएको छ।

पूर्ण मनोरञ्जनात्मक कमेडी जनरामा निर्माण हुन लागेको ‘तीन तीघ्रे क्या बिग्रे’ ले हास्य, व्यंग्य र पारिवारिक मनोरञ्जनलाई समेट्दै सबै उमेर समूहका दर्शकलाई रमाइलो अनुभव दिने लक्ष्य राखेको निर्देशक अमरदीप सापकोटाले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *