सातै प्रदेशमा सुविधासम्पन्न बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री बालेनको निर्देशन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले देशका सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापना गर्ने योजना तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलमा उनले जलनका बिरामीलाई समयमै गुणस्तरीय उपचार उपलब्ध गराउने व्यवस्था सुदृढ बनाउन जोड दिएका हुन्।
प्रधानमन्त्री शाहले प्रमुख सरकारी अस्पतालहरूमा रहेका बर्न वार्डको क्षमता विस्तार र सेवा गुणस्तर सुधारका लागि आवश्यक योजना तत्काल तयार पार्न पनि निर्देशन दिए। गम्भीर प्रकृतिका जलनका बिरामीले उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यता अन्त्य गर्न सङ्घ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो।
छलफलका क्रममा प्रधानमन्त्रीले गुणस्तरीय, प्रभावकारी र नागरिकमैत्री स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालको सरसफाइ, सेवा प्रवाह, डिजिटल प्रविधिको प्रयोग तथा सुशासनको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिन आग्रह गरे।
उनले विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन निजी अस्पतालहरूले बहिरङ्ग (ओपिडी) सेवाको कम्तीमा १० प्रतिशत सेवा सहुलियत दरमा उपलब्ध गराउने कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न पनि निर्देशन दिए।
प्रधानमन्त्री शाहले एक स्वास्थ्य संस्थाले अपनाएका सफल अभ्यासलाई अन्य संस्थाले पनि अनुसरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै स्वास्थ्य संस्थाका नाममा रहेका अतिक्रमित जग्गाको समस्या सम्बन्धित निकायसँग समन्वय गरेर कानुनअनुसार समाधान गरिने बताए।
छलफलमा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर सुधार, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, अनुसन्धान प्रवर्द्धन, पूर्वाधार विकास तथा स्वास्थ्य सेवाको डिजिटल रूपान्तरणका विषयमा सुझाव प्रस्तुत गरेका थिए। उनीहरूले अस्पताल सूचना व्यवस्थापन प्रणाली प्रभावकारी बनाउनुपर्ने र केही प्रतिष्ठानका जग्गा अतिक्रमणका कारण संस्थागत विकासमा समस्या परेको विषय पनि प्रधानमन्त्रीसमक्ष उठाएका थिए।
छलफलमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नवीसमान सिंह प्रधान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नारायणसिंह गुरुङ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा. स्मृति काफ्ले तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति विवेक आचार्य सहभागी थिए।
