गणेश नेपालीको शव परिवारले बुझ्यो, ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सुरु
काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहपछि उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव परिवारले बुझेको छ।
सरकारसँग सहमति भएपछि परिवारले शव बुझेर अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगेको हो।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार अहिले पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी भइरहेको छ।
यसैबीच, मृतकका परिवारले घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै प्रहरी वृत्त कालिमाटीमा ज्यानसम्बन्धी कसुरअन्तर्गत जाहेरी दर्ता गराएका छन्।
प्रहरीका अनुसार जाहेरीमा हालसम्म कुनै व्यक्तिलाई प्रतिवादीका रूपमा किटान गरिएको छैन। अनुसन्धानको क्रममा संलग्नता पुष्टि हुने आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।
एसपी भट्टराईले घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीका विभिन्न टोली परिचालन गरी अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्।
गणेश नेपालीले असार २५ गते काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका थिए। उपचारका क्रममा उनको निधन भएपछि परिवारले न्यायको माग गर्दै शव नबुझेको थियो। सरकार र परिवारबीच नौबुँदे सहमति भएपछि अन्ततः शव बुझेर अन्त्येष्टि प्रक्रिया अघि बढाइएको हो।
