थारु भाषा-संस्कृतिमा योगदानका लागि इन्द्र चौधरी सम्मानित
काठमाडौं। थारु भाषा, साहित्य तथा लोकसंस्कृतिको अध्ययन, अनुसन्धान र संरक्षणमा योगदान पुर्याउँदै आएका इन्द्र चौधरी सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा सम्मानित तथा पुरस्कृत भएका छन्।
२१३औँ भानुजयन्तीको अवसरमा सोमबार आयोजित प्रादेशिक प्रतिभा सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा प्रतिष्ठानले चौधरीलाई संस्कृति विधातर्फ ‘स्रष्टा सम्मान तथा पुरस्कार–२०८२’ प्रदान गरेको हो। सम्मानसँगै उनलाई नगद ५० हजार रुपैयाँ पनि प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका अनुसार नेपाली तथा थारु भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै चौधरीलाई सम्मान गरिएको हो।
सम्मान ग्रहणपछि चौधरीले यो पुरस्कारले आफूलाई थप जिम्मेवार र उत्साहित बनाएको प्रतिक्रिया दिए।
‘यो मेरो लागि पुरस्कार मात्र होइन, आगामी दिनमा थारु भाषा, साहित्य तथा संस्कृतिको उजागरका लागि थप हौसला हो,’ उनले भने, ‘सुदूरपश्चिमको लोकसंस्कृति र भाषा–साहित्यको प्रवर्द्धनमा निरन्तर लागिरहनेछु। यसले प्रदेशको पहिचान मात्र होइन, समग्र नेपाली साहित्यलाई पनि समृद्ध बनाउन योगदान पुग्ने विश्वास लिएको छु।’
यस वर्षको सम्मान तथा पुरस्कारअन्तर्गत भाषा-साहित्यतर्फ मीना पन्त, सङ्गीततर्फ ध्वजबहादुर महरा र ललितकलातर्फ योगेन्द्र बम पनि नगदसहित सम्मानित भएका छन्।
कार्यक्रममा शिक्षा तथा साहित्य क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार डा. हेमराज पन्त, प्रा. डा. टेकराज पन्त र उपप्राध्यापक डा. दीपकचन्द्र भट्टलाई अभिनन्दन गरिएको थियो।
त्यसैगरी सौगात ओझा, पूर्णबहादुर मल्ल, कमल भण्डारी ‘संघर्ष’ र गुरुदास विश्वकर्मालाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा दिननाथ बरालका दुई कृतिको लोकार्पणसमेत गरिएको थियो।
बटुकहरूको स्वस्तिवाचनबाट सुरु भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री बेलबहादुर राना प्रमुख अतिथि तथा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामी र सामाजिक विकास राज्यमन्त्री मधु भारती विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपकुलपति सरस्वती दाहालले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन प्रेमबहादुर चन्दले गरेका थिए।
