`

जनताको ध्यान मोड्न सरकारले ‘सस्तो स्टन्ट’ गर्ने गरेको सांसद गुरुङको आरोप

Nepal One HD ३१ असार २०८३ १३:५१
प्रमुख खबर

काठमाडौं। नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकार जनताका गम्भीर प्रश्नको जवाफ दिनुभन्दा विषयान्तर गर्नतर्फ केन्द्रित भएको आरोप लगाएकी छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारको कार्यशैलीका कारण जनतामा निराशा बढ्दै गएको बताइन्। उनका अनुसार सरकारमाथि गम्भीर प्रश्न उठ्नेबित्तिकै जनताको ध्यान अन्यत्र मोड्ने प्रयास हुने गरेको छ।

सांसद गुरुङले मन्त्रीहरूको सम्पत्तिबारे प्रश्न उठेका बेला सुकुम्बासी बस्तीमा डोजर चलाइएको, तत्कालीन सचिव कृष्णहरि पुष्कर पक्राउ परेपछि प्रधानमन्त्री र मन्त्रीहरू सामाजिक सञ्जालमा सक्रिय देखिएको तथा कीर्तिपुरस्थित सुकुम्बासी बस्ती डुबानमा पर्दा पीडितको समस्याभन्दा अन्य विषयले प्राथमिकता पाएको उल्लेख गरिन्।

उनले त्रिपुरेश्वर, बुद्धनगर र सर्लाहीमा भएका आत्मदाहका घटनाको प्रसंग उल्लेख गर्दै सञ्चारमाध्यमको कार्यालय र प्रमुख प्रतिपक्षी दलका सभापति गगन थापाको निवासअगाडि गाडी पार्किङ गरिएको घटनालाई पनि सरकारले विषयान्तर गर्ने शैलीको उदाहरणका रूपमा प्रस्तुत गरिन्।

यी घटना केवल प्रतिनिधिमूलक उदाहरण भएको बताउँदै गुरुङले सरकारले गम्भीर सार्वजनिक मुद्दाबाट जनताको ध्यान मोड्न बारम्बार ‘सस्तो स्टन्ट’ अपनाउने गरेको आरोप लगाइन्।

यस्ता गतिविधिले वास्तविक समस्याको समाधान नहुने भन्दै उनले जनसरोकारका विषयमा सरकार गम्भीर बन्नुपर्ने धारणा व्यक्त गरिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *