श्रमशोषणको आरोप लगाउँदै प्रशिक्षार्थी चिकित्सकको प्रदर्शन
काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकहरूले आफूहरूमाथि श्रमशोषण भइरहेको आरोप लगाउँदै शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रमशोषणविरुद्धको संघर्ष समिति’ को नेतृत्वमा भएको प्रदर्शनमा सहभागी चिकित्सकहरूले प्रशिक्षार्थी चिकित्सक (इन्टर्न तथा आवासीय चिकित्सक)लाई नेपालको श्रम ऐन, २०७४ अनुसार सेवा–सुविधा उपलब्ध गराउन सरकार र सम्बन्धित निकायसँग माग गरेका छन्।
उनीहरूले हाल आफूहरूलाई कानुनले तोकेको सीमाभन्दा बढी समय काममा खटाइँदै आएको गुनासो गर्दै प्रशिक्षार्थी चिकित्सकको ड्युटी समय दैनिक अधिकतम १२ घण्टा र सातामा ७२ घण्टाभन्दा बढी हुन नहुने व्यवस्था कार्यान्वयन गर्नुपर्ने तथा सातामा कम्तीमा एक दिन अनिवार्य बिदा सुनिश्चित गरिनुपर्ने माग राखेका छन्।
प्रदर्शनकारीहरूले सातामा ४८ घण्टाभन्दा बढी काम गराइए श्रम ऐनअनुसार अतिरिक्त समय (ओभरटाइम) भत्ता उपलब्ध गराइनुपर्ने मागसमेत अघि सारेका छन्।
यस्तै, सरकारले बजेटमार्फत घोषणा गरेको तलब वृद्धि तथा यसअघि भएको सहमतिअनुसार आवासीय चिकित्सकलाई अधिकृत आठौँ तहसरहको बढेको पारिश्रमिक तत्काल कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ।
एमबीबीएस र बीडीएस अध्ययन पूरा गरेपछि एमडी, एमएस तथा एमडीएस अध्ययनका लागि अनिवार्य गरिएको एक वर्षे कार्यअनुभव (वर्क एक्सपेरियन्स) को व्यवस्था खारेज गर्नुपर्ने माग पनि प्रदर्शनकारीहरूले गरेका छन्।
प्रदर्शनका क्रममा उनीहरूले प्रशिक्षार्थी चिकित्सकको श्रमको उचित मूल्याङ्कन, कानुनअनुसार सेवा–सुविधा तथा सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
