बूढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद केन्द्रको मन्त्री मेहताद्वारा अनुगमन
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज बूढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्रको अनुगमन गर्दै केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले केन्द्रबाट प्रवाह भइरहेका सेवा, उपलब्ध पूर्वाधार तथा भावी योजनाबारे जानकारी लिनुका साथै सेवा विस्तार, गुणस्तर अभिवृद्धि र केन्द्रको समग्र विकासका विषयमा पदाधिकारीसँग छलफल गरेपछि उक्त कुरामा जोड दिनुभएको हो ।
मन्त्री मेहताले राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेद, पञ्चकर्म तथा योग सेवाको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । केन्द्रमा उपलब्ध सेवाबारे प्रचारप्रसार गर्नुपर्ने उहाँको कथन थियो ।
केन्द्रलाई मन्त्रालयबाट हरसम्भव सहयोग हुने पनि उहाँले बताउनुभयो । मन्त्री मेहताले हर्रो, बर्रो, बोजोलगायत औषधीय जडीबुटीको उत्पादन, संरक्षण र उपयोगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै त्यसनिम्ति मन्त्रालयले सहयोग गर्ने बताउनुभयो ।
