`

घोषणा गरियो ‘हजारौँमा एक’

Nepal One HD ३ साउन २०८३ १३:२४
चलचित्र

काठमाडौं । निर्भाना प्रोडक्सन र डिएडी प्रोडक्सनको सहकार्यमा नयाँ नेपाली फिल्म ‘हजारौंमा एक’ निर्माण हुने भएको छ। सञ्चारकर्मी तथा निर्देशक सुव्रत आचार्यले निर्देशन गर्ने यो फिल्म एक्सन-एड्भेन्चर विधामा निर्माण हुन लागेको हो।

निर्माण पक्षका अनुसार फिल्म रहस्य, साहसिक यात्रा र अलौकिक कल्पनामा आधारित हुनेछ। कथाको परिकल्पना सीता मायाले गरेकी हुन् भने उनी नै फिल्मकी प्रस्तुतकर्ता पनि हुन्। दीपेन्द्र गौतम ‘माइकल’ कार्यकारी निर्माता रहनेछन् भने छायांकन निर्देशक (डीओपी)को जिम्मेवारी हरि हुमागाईंले सम्हाल्नेछन्।

फिल्म नेपाली भाषामा निर्माण गरिए पनि अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै हिन्दी र मलियालम भाषामा पनि डब गरिने निर्माण पक्षले जनाएको छ।

मुख्य भूमिकामा मलियालम चलचित्र उद्योगसँग आबद्ध एक अभिनेता रहने जानकारी दिँदै निर्माण पक्षले उनको परिचय पहिलो पोस्टर (फर्स्ट लुक)मार्फत सार्वजनिक गरिने जनाएको छ। साथै, मलियालम फिल्म उद्योगका केही कलाकार तथा प्राविधिकको पनि सहभागिता रहने निर्देशक आचार्यले बताएका छन्।

फिल्मको पटकथालाई नेपाली परिवेशअनुकूल संवाद र रूपान्तरण गर्ने काम लेखक शान बस्नेतले गरिरहेका छन्। छायांकन यसै वर्षको फागुन-चैतदेखि सुरु गर्ने तयारी गरिएको छ।

निर्माण पक्षका अनुसार फिल्मका अधिकांश कलाकार, प्राविधिक तथा गीत–संगीत नेपाली सर्जककै रहनेछन्। करिब चार करोड रुपैयाँको अनुमानित बजेटमा निर्माण हुने यो फिल्म नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा छायांकन गरिनेछ।

आधुनिक प्रविधि, साहसिक कथा र अलौकिक कल्पनाको संयोजनमार्फत स्वदेशी दर्शकसँगै अन्तर्राष्ट्रिय बजारलाई समेत लक्षित गर्ने उद्देश्यका साथ फिल्म निर्माण गर्न लागिएको निर्माण पक्षले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *