`

रासायनिक मल आपूर्ति तीव्र, युरिया बोकेको तेस्रो जहाज कलकत्ता पुग्यो

Nepal One HD ६ साउन २०८३ ८:०५
अर्थ समाचार

काठमाडौं । भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल बोकेको तेस्रो जहाज आइपुगेको छ। कृषकहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यले उक्त मल नेपालका लागि ल्याइएको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार निरन्तरको वर्षाका कारण भारततर्फ मालवाहक रेल सञ्चालन प्रभावित हुँदा हिजो नेपाल आइपुग्नुपर्ने एक हजार २५० मेट्रिक टन युरिया मल बोकेको रेल अब भोलि आइपुग्ने भएको छ। त्यस्तै, दुई हजार ५०० मेट्रिक टन डीएपी मल बोकेको अर्को रेल पनि भोलि नेपाल आइपुग्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

युरिया मलको आपूर्तिलाई थप सहज बनाउन कलकत्ताबाट विराटनगरतर्फ ३०० मेट्रिक टन र भैरहवातर्फ ४५० मेट्रिक टन युरिया मल ट्रकमार्फत ढुवानीका लागि पठाइसकिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बाँकी रासायनिक मल पनि चरणबद्ध रूपमा नेपाल भित्र्याइनेछ र आवश्यकताअनुसार देशभर वितरण गरिनेछ। कृषकहरूलाई आवश्यक पर्ने रासायनिक मलको आपूर्ति र वितरणलाई निरन्तरता दिइएको मन्त्रालयको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *