`

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर

Nepal One HD ६ साउन २०८३ १५:०२
जीवनशैली/स्वास्थ्य

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वकार्यवाहक सभापति गोपालमान श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनी सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत छन्।

श्रेष्ठका छोरा सम्पूर्ण श्रेष्ठका अनुसार उनी पछिल्लो ९–१० दिनदेखि ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालको आईसीयूमा उपचार गराइरहेका छन्। चिकित्सकहरूले उनको अवस्था जटिल रहेको बताएका छन्।

श्रेष्ठलाई गत वर्ष प्याङ्क्रियाज (अग्न्याशय) मा समस्या देखिएपछि नेपालका विभिन्न अस्पतालमा उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो, जहाँ क्यान्सर पुष्टि भएपछि किमोथेरापी गरिएको थियो। करिब तीन महिनाको उपचारपछि उनी नेपाल फर्किए पनि त्यसयता स्वास्थ्य अवस्था क्रमशः कमजोर बन्दै गएको परिवारले जनाएको छ।

हेलियस अस्पतालमा भर्ना हुनुअघि उनको हरिसिद्धिस्थित मेडिसिटी अस्पताललगायत अन्य स्वास्थ्य संस्थामा पनि उपचार गरिएको थियो। तर पछिल्लो समय स्वास्थ्यमा थप जटिलता देखिएपछि आईसीयूमा राखेर उपचार गर्नुपरेको हो।

गोपालमान श्रेष्ठ नेपाली कांग्रेसका पुराना र प्रभावशाली नेतामध्ये एक हुन्। तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनका बेला कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा पक्राउ परेपछि उनले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए। पार्टीको विभिन्न तहमा लामो समय नेतृत्वदायी भूमिका निर्वाह गरेका श्रेष्ठ विशेष महाधिवेशनका क्रममा दिएको अभिव्यक्तिका कारण पनि चर्चामा आएका थिए।

हाल उनको स्वास्थ्यमा सुधारका लागि चिकित्सक टोलीले निरन्तर निगरानीसहित उपचार गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *