`

विश्वविद्यालयमा प्राज्ञिक स्वायत्तता बढाउँदै दलीय भागबण्डा अन्त्य गर्न मन्त्री पोखरेलको आग्रह

Nepal One HD ७ साउन २०८३ २०:३६
प्रमुख खबर

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा प्राज्ञिक स्वायत्तता बढाउँदै दलीय भागबण्डा अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।

त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सवका अवसरमा बिहीबार कीर्तिपुरमा आयोजित कार्यक्रममा सहकुलपति पोखरेलले सुधार र रुपान्तरणको दृष्टिकोणसहित सबै विश्वविद्यालयमा उपकुलपतिहरु नियुक्त भएसँगै विश्वविद्यालयहरु गतिशिल भइरहेको बताए। उनले त्रिविको पुरानो पहिचान कायम राख्दै नयाँ अध्यायको प्रारम्भ गर्ने, प्राज्ञिक स्वायत्ततालाई थप प्रोत्साहन गर्दै दलीय भागबण्डाको अन्त्य गर्ने र योग्यता प्रणाली कार्यान्वयन गर्न आग्रह गरे।

विश्वविद्यालयहरुमा सरकारबाट कुनै पनि प्रकारको हस्तक्षेप वा दबाब नहुने उल्लेख गर्दै मन्त्री पोखरेलले नवनियुक्त उपकुलपतिलगायत विश्वविद्यालयको सम्पूर्ण संयन्त्रलाई सुशासनको प्रत्याभूति हुनेगरी काम गर्न अनुरोध गरे। उनले अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन र त्रिविका प्राध्यापकहरुलाई विश्वका विश्वविद्यालयहरूसँग ज्ञान आदानप्रदान गर्न सुझाए।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले उच्च शिक्षाको ऐतिहासिक निकाय तथा उच्च शिक्षाको राष्ट्रिय धरोहरका रुपमा परिचित त्रिभुवन विश्वविद्यालयलाई बदलिँदो परिस्थितिअनुरुप थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले सुशासन कायम गर्न प्रणाली स्थापना गर्ने, विश्वस्तरमा सहकार्यमा जोड दिई ज्ञान, अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित भई नैतिक तथा प्रतिस्पर्धी शैक्षिक संस्थाका रुपमा अघि बढाउने बताए। कार्यक्रममा त्रिविको वार्षिक प्रकाशनसमेत विमोचन गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *